अमेरिका । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘रास्वपा – प्रवास नेपाली सम्पर्क विभाग–क्यानाडा’ को औपचारिक रूपमा गठन गरिएको छ ।
कुमार उप्रेतीको संयोजकत्वमा गठन गरिएको प्रारम्भिक ९ सदस्यीय टिममा मदन गौतम (उप–संयोजक), शेषराज पौडेल (कोषाध्यक्ष), सन्तोष लामिछाने (सचिव) लगायतका सदस्यहरू रहेका छन् ।
विभागीय संरचना अनुसार समितिमा २१ सदस्य रहने भएकाले बाँकी पदहरू योग्य, इच्छाशक्ति भएका प्रवासी नेपालीहरूमध्येबाट छिट्टै चयन गरिने जानकारी दिइएको छ ।
समितिको घोषणा भर्चुअल कार्यक्रममार्फत विधिपूर्वक सम्पन्न भउको हो । उक्त कार्यक्रममा रास्वपा प्रवास विभागका केन्द्रीय सदस्य तथा अमेरिका–क्यानाडा समन्वयकर्ता आदरणीय शिशिर भट्टले नवगठित टिमलाई औपचारिक रूपमा सपथ गराउनुभयो ।
कार्यक्रमको प्रमुख आतिथ्य रास्वपाका कार्यबाहक सभापति तथा प्रवास विभाग प्रमुख सांसद डिपी अर्यालले गर्नु भएको थियो । साथै, सांसदहरू सन्तोष परियार र गणेश पराजुलीले पनि भर्चुअल रूपमा सहभागी भई नवगठित टिमलाई शुभकामना मन्तव्य दिनुभएको थियो ।
‘रास्वपा – प्रवास नेपाली सम्पर्क विभाग – अमेरिका’का उप–संयोजक दीपक सुनुवारले “अब अमेरिका र क्यानाडालाई समेटेर ‘रास्वपा – उत्तर अमेरिका’ को साझा पहिचान बनाउँदै, सम्पूर्ण प्रवासी नेपालीहरूलाई एकजुट गरेर नेपालको समृद्धि, सुशासन र दीर्घकालीन परिवर्तनका लागि समर्पित हुने समय आएको छ ।” भन्नु भयो ।
प्रतिक्रिया दिनुहोस्