५ श्रावण २०८२, सोमबार

नेपाल प्रेस युनियनको १०औं केन्द्रीय महाधिवेशन आगामी जेठमा हुने

कोलोराडोखबर संवाददाता , July 21st, 2025

नेपाल । नेपाल प्रेस युनियनको १० औं केन्द्रीय महाधिवेशन आगामी जेठमा हुने भएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले प्रेस युनियनको विधान समयानुकूल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि अध्यक्ष लम्सालले विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष प्रेम केसी संयोजकत्वमा उपाध्यक्षहरु सलोजा दाहाल, जीवन भण्डारी, डा।मुरारी अधिकारी, अनिल कुमार कर्ण, उपमहासचिव युवराज गौतम रहेको उपसमिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ । कोषलाई व्यवस्थित गर्न र रकम सङ्कलन गर्नका लागि कोषाध्यक्ष माधव धितालको संयोजकत्वमा केन्द्रीय सदस्य मित्र भण्डारी, कपिल कोइराला, नारायणी रजौरे, तेजना पण्डित र आठै प्रदेशका अध्यक्षहरु सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको छ ।

युनियनको तीन वर्षे अवधिमा पूरा भएको र विधानको व्यवस्था अनुसार विधान सभालगायतका केही महत्वपूर्ण कार्य बाँकी रहेकाले एक वर्षे कार्य अवधि थप गर्ने निर्णय गरिएको जानकारी पनि दिइएको छ ।

बैठकले विधानबमोजिम यही साउन १५ गतेदेखि कात्तिक २१ गतेसम्म सदस्यता नवीकरण तथा वितरणका गरी सोही अवधिमा पत्रकारसँग युनियन अभियान चलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्