अमेरिका । ‘‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन शहरमा शुरु भएको छ । अमेरिकाका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन शुरु भएको हो ।
बोस्टन सहर नजिकै 594 Washington Street, Braintree स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन) को सामुदायिक भवनमा एक विशेष समारोहका बीच कार्यक्रम शुरु भएको हो ।
कार्यक्रम उद्घाटन लगतै चिकित्सकहरुसंग ‘रक्तदान, जीवन दान’ विषयमा अन्तरक्रिया भएको छ । अन्तरक्रिया सकिएपछि साधारण सभा शुरु भएको र साँझ बिडिएसंगको सहकार्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),बोस्टन च्याप्टरको प्रस्तुतिमा गजल यात्रा शुरु भएको छ । गजल यात्रा–६ अन्तर्गत गजल गायन सहितको सांस्कृतिक कार्यक्रम भएको हो ।
कार्यक्रम तालिका अनुसार जुलाई २० तारिख आईतवारका दिन साधारण सभा अन्तर्गतका विभिन्न प्रस्तावहरु प्रस्तुत हुने, आवश्यक छलफल गरी त्यसलाई पारित गरिने छ ।
साथै अधिवेशनको दोश्रो दिन जुलाई २०, २०२५ आइतबार संस्थाको विधान अनुसार आगामी कार्यकाल (२०२५–२०२७) का लागि निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गर्ने र निर्वाचित कार्यसमितिलाई सपथग्रहण गराउने कार्यतालिका रहेको छ ।
अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त संयोजक र उपाध्यक्ष टिका पौडेल, महासचिव डाक्टर शीरोज पोखरेल, केन्द्रीय सदस्य बिरोचन नेपाल, बोस्टन च्याप्टर अध्यक्ष राम थापा, आजीवन सदस्यहरु थानिरत्न कंडेल, सानु वर्मा, अन्जु थापा लगायत सह–संयोजक रहेको अधिवेशन मूल आयोजक समिति गठन गरिएको थियो ।
रक्तदानबारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने उद्देश्यका साथ सन् २००९ मा ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को स्थापना भएको हो ।
प्रतिक्रिया दिनुहोस्