१९ भाद्र २०८२, बिहीबार

अनेसासले हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा

कोलोराडोखबर संवाददाता , July 20th, 2025

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरेको छ ।

शनिवार बसेको बोर्ड अफ ट्रष्टी र केन्द्रीय समितिको संयुक्त बैठकमा पुरस्कार छनोट समितिका संयोजक एवं विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नामावली घोषणा गर्नुभएको थियो ।

विभिन्न व्यक्तित्वहरुले आर्थिक सहयोग गरेर कूल ११ हजार छ सय डलर राशिका पुरस्कार छन् । त्यसमध्येमा दुई हजार एक सय डलर राशिको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको सन्त्रासका साठी दिन नामको उपन्यासले प्राप्त गरेको छ । यो पुरस्कार अनेसासको सर्वाधिक राशिको पुरस्कार हो ।

यसैगरी अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार रुकुमका लोककथाका लेखक शशिराम कार्कीले प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, एक हजार डलर राशिको विभिन्न विधाका पुरस्कार प्रदान गरिने भएको छ । जस अनुसार अनेसास होमनाथ सुवेदी डायस्पोरा वाङ्गमय पुरस्कार डा. तुलसी आचार्यको स्वप्न भूमि उपन्यास, अनेसास सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध नियात्रा, संस्मरण पुरस्कार मोमिलाको निबन्ध संग्रह ‘प्रश्नहरु त बाँकी नै छन’ लाई प्रदान गरिने भएको छ ।

यस्तै, साँस्कृतिक अध्ययन विधाको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन पुरस्कार डा दुर्गाबहादुर घर्तीको साँस्कृतिक अध्ययन,अनेसास राष्ट्रकवि काव्य पुरस्कार (डायस्पोरा) जगन्नाथ पौडेलको बग्दा बग्दै कविता संग्रह,अनेसास राष्ट्रकवि काव्य पुरस्कार कृसु क्षेत्रीको कविता संग्रह पसिनाको क्यानभास, अनेसास पदम विश्वकर्मा उत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा संग्रह पाश्र्वधुन, अनेसास नारायण पाण्डे उत्कृष्ठ कथा पुरस्कार अखण्ड भण्डारीको उपन्यास बोरालाई प्रदान गरिने छ ।

यसैगरी, अनेसास लक्ष्मण सत्याल गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीत संग्रह धर्तीका ध्वनिलाई र अनेसास शिव लामिछाने गीत वाल साहित्य पुरस्कार वाल साहित्य यात्रामा देशकी लेखिका विमला निरौलालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

हाल घोषणा गरिएको पुरस्कार आगामी लक्ष्मी जयन्तीमा प्रदान गरिने छ । यसैबीच अनेसासले आफनो वार्षिक साधारण सभा तथा भानु जयन्ती पनि मनाएको छ ।

शनिवार आयोजित साधारण सभामा विओटीका महासचिव प्रकाश नेपालले भवन खरीदलगायतका विषयमा, केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौलाले वार्षिक प्रतिवेदन, विओटीका कोषाध्यक्ष नेत्रवन्धु पोख्रेलले विओटीको खर्च तथा आम्दानीको विवरण पेश गर्नु भएको प्रतिवेदन पारित गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष सर्वज्ञ वाग्ले, विओटीका अध्यक्ष पदम विश्वकर्मा, पूर्वअध्यक्ष गोवर्द्धन पूजा, पूर्व विओटीका अध्यक्ष डा श्याम कार्की, रोहिणी शर्मा, तीर्थराज अधिकारी , गीता खत्री लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्