३ श्रावण २०८२, शनिबार

लघुकथा: प्रतिबद्धता

कोलोराडोखबर संवाददाता , July 19th, 2025

-आरसी रिजाल-

आमा घुँक्क घुँक्कगर्दै बिदेशमा रहेको छोरालाई भन्छिन् — बुवा बित्नुभयो ! बाबू तँ तुरुन्त आइज!

छोराले –आमा भन्नासाथ यहाँ छुट्टी पाइदैन ।म त्यहाँ आउन ३/४ दिन लाग्छ।फेरि बुहारी सुत्केरी हुने महिना पर्‍यो। ऎल आउनजान र पितृकार्य गर्न ६/७ लाख खर्च हुन्छ। बरु कसैलाइ पचास हजार दिएर ढिकुरो पुजारीमा नियुक्ति गर्नु। यहाँ पनि बाहुन पाइने हुँदा विधि बिधान अनुसारको कर्म यहिँ गर्न सक्छु । देहलाई त्यागेर गएको आत्मा म यहीँ बोलाउछु भन्यो।

आमा — हुँदैन छोरा मानिस जहाँ बितेको हो, कर्मकाण्ड त्यहीँ गर्नुपर्छ।नत्र बुवाको आत्मा भट्केर हामलाईनै पिर्नुहुन्छ।।बुहारीको हेरचाहको लागि कसैलाई जिम्मा लगाएर आइज।

छोरा — तपाईं पिर नगर्नुस आमा। हाम्रो बुवाको पवित्र आत्मा क्रूर र निष्ठुरी हुनै सक्तैन।आमा हिजोआज त अर्धागिनी र छोरीहरुले पनि क्रिया बसेको देख्नु सुन्नु भएकै होला। तसर्थ आफ्नो अनुकुल र समय अनुसार हामि चल्नुपर्छ।

आमा छोराको कुरा सुनिरहेकी दिदीले — भाइ तँ चिन्ता नगर। जे पर्छ सोही टर्छ। पैसा अलि चाँडै भिनाजुको खातामा हाल्दिनु। ल आमासँग कुरा गर…….।

छोरा — आमा बेरोजगारीको कारण म बिदेश आएको हुँ। मलाई यता पठाउन खर्च जुटाएकै बुवाले हो। तपाईंलाई लाग्न सक्छ –” बुवाको निधनमा छोरा आएन । मेरो पालोमा झन के गर्ला?” भनी।आमा म ऎले नै प्रतिबद्धता जाहेर गर्दर्छु– संसारको जुनसुकै कुनामा भए पनि तपाईको पालोमा दागबत्ती दिन आइपुग्छु…।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्