१ श्रावण २०८२, बिहीबार

३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान प्रदान

कोलोराडोखबर संवाददाता , July 17th, 2025

नेपाल । सरकारले विभिन्न विधामा ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गर्नुभयो ।

सिआइपी प्राप्त गर्ने २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थालाई मानार्थ सिआइपी प्रदान गरिएको छ ।

व्यावसायीका प्रतिनिधिमूलक संस्थाका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई मानार्थ सिआइपी सम्मान प्रदान गरिएको छ । यी संस्थालाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएकामा सम्मान गरिएको हो ।

यस्तै व्यवसायीका प्रतिनिधिमूलक महासङ्घतर्फ नेपाल हस्तकला महासङ्घ र निर्यात व्यवसायी महासङ्घका अध्यक्षलाई मानार्थ सिआइपी प्रदान गरिएको छ । यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत सङ्घतर्फ नेपाल छुर्पी व्यवसायी सङ्घ झापा, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल तयारी पोसाक उद्योग सङ्घ र नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात सङ्घले मानार्थ सिआइपी सम्मान पाएका छन् । ती संस्थालाई तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९–८० र २०८०र८१ मा कुल पाँच अर्ब वा सोभन्दा बढी निर्यात गरेका आधारमा यो सम्मान प्रदान गरिएको हो ।

यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुमध्ये प्रत्येकबाट एकरएक जना व्यवसायीलाई सिआइपी सम्मान प्रदान गरिएको छ । जस अन्तर्गत उनी गलैँचातर्फ थर्ड आई इन्टरनेसनल, तयारी पोसाकतर्फ नेपाल फेसन प्रालि, उनी फेल्टका सामानतर्फ नेसनल एक्सपोर्ट्स प्रालि, छुर्पीतर्फ मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालि र पस्मिना वस्तुतर्फ ट्राइकोट इन्डस्ट्रिजले सिआइपी सम्मान प्राप्त गरेका छन् ।

यस्तै भारततर्फ निकासी रकमका आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रालि, आरती स्ट्रिप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्टमङ्गल काठमाडौँले सिआइपी सम्मान प्राप्त गरेका छन् । यसै गरी नेपालको मौलिक सिप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्यान्ड इन्टरप्राइजेज प्रालिले पनि सिआइपी सम्मान पाएको छ ।

यस्तै प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने नेपाल एभरेस्ट कार्डम प्रोडक्सन झापा र जडीबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एन्ड सप्लायर्स दार्चुलाले यो सम्मान प्राप्त गरेका छन् ।

निर्यात व्यापारमा कुल रकमका आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौँ र तेस्रो मुलुकतर्फ गत दुई आवमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीमध्ये दी साङ्ग्रिला कार्पेट एन्ड ह्यान्डिक्राफ्ट, एभरेस्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइन्डफुल क्राफ्ट प्रालि काठमाडौँले सिआइपी सम्मान प्राप्त गरेका छन् ।

यसै गरी बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आइएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटेल उद्योगी तथा व्यवसायीमा एभरेस्ट हस्पिटालिटी होटेल लिमिटेडले सिआइपी सम्मान प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्