अमेरिका । अमेरिकाको न्युयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा आज न्युयोर्कमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताउँदै नेपालको भ्रमण गर्न अमेरिकी नागरिकहरुलाई आह्वान गर्नुभयो ।
महावाणिज्य दूतावासका अनुसार यात्रा लेखिका इरिन लेभीले नेपालका पर्यटकीय क्षेत्रबारे प्रस्तुति दिँदै जुनसुकै उमेर र लिङ्गका व्यक्तिलाई नेपाल सुरक्षित गन्तव्य भएको बताउनुभयो । उहाँले सन् २०२४ मा भ्रमण गर्नुपर्ने स्थलको सूचीमा बर्दिया राष्ट्रिय निकुञ्जका बारेमा आलेख लेखेर त्यसको प्रचार गर्नुभएको थियो ।
कार्यक्रममा अमेरिकी सञ्चारकर्मी पर्यटन व्यवसायीलगायत ५० जनाभन्दा बढीको उपस्थिति थियो । सो अवसरमा नेपालका प्रमुख पर्यटकीयस्थलबारे वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्