अमेरिका । फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको छ।
आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।
अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे।
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको पीएसजीको आक्रमण फाइनलमा भने चल्न सकेन । रक्षात्मक रणनीतिमा उत्रिएको चेल्सीले तीनै गोल काउन्टर अट्याकमा गरेको थियो । पीएसजीले पाएको सिमित अवसरमा पनि गोलरक्षक रोबर्ट सान्चेज बाधक बने ।
पाल्मरले २२ औं मिनेटमा चेल्सीलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक जियानलुइजी डोनारुममा बिट भए । ३० औं मिनेटमा पाल्मरले पहिलो गोलजस्तै मुभमा फिनिस गर्दै चेल्सीलाई बलियो स्थितिमा पुर्याए ।
४३ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए । यसपटक पाल्मरले दिएको पासलाई पेड्रोले चिप गर्दै फिनिस गरे ।
दोस्रो हाफको ८५ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भएको थियो। जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भीएआरको सहायता लिँदै रातो कार्ड दिए ।
चेल्सीका कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
प्रतिक्रिया दिनुहोस्