नेपाल । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ।
उनको निधन विसं १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मा, अमेरिकालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा पनि मनाइन्छ।
प्रतिक्रिया दिनुहोस्