२८ असार २०८२, शनिबार

नेपाली कांग्रेसका २६ नेता कार्यकर्तालाई कारबाही

कोलोराडोखबर संवाददाता , July 12th, 2025

नेपाल । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ नेता तथा कार्यकर्तालाई सचेत गराएको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भनी प्राप्त हुनआएका उजुरीका आधारमा सचेत गराएको हो ।

समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार समितिले कैलालीमा दुई, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा एक, खोटाङमा एक र धनुषामा एक गरी २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई अब उप्रान्त पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरेको हो । साथै प्राप्त अनुशासन कारबाही सम्बन्धित उजुरीहरू छानबिनकै क्रममा रहेको उनले जानकारी दिए ।

कांग्रेसले २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारका विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकका सन्दर्भमा पार्टीको विधानअनुसार स्वतः निष्काशन गरेको थियो ।

ती कारबाही परेकाको हकमा तोकिएको प्रक्रिया पुर्याई आफूहरूउपर हुने कारबाही फुकुवाका लागि प्राप्त भएका पुनरावेदनका हकमा समितिले आवश्यक निर्णयका लागि पार्टीको केन्द्रीय कार्यसमितिको यही असार २२ गतेको बैठकमा पेस गरेको थियो ।

त्यस्ता प्राप्त भएका सम्पूर्ण निवेदनहरूलाई आवश्यक कारबाहीका लागि कोशी प्रदेशबाट १७, मधेस प्रदेशबाट २३, बागमती प्रदेशबाट चार, गण्डकी प्रदेशबाट तीन, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट एक गरी ८८ जनाको निवेदन रहेको पार्टी कार्यालयले जनाएको छ ।

उनासीको निर्वाचनमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेको थियो । निर्वाचनपछि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई धोका दिएर एमालेसँग मिलेर सरकार बनाएका थिए ।

एक वर्षपछि प्रचण्ड कांग्रेससँग मिलेर सरकार बनाए । तर त्यसको छ महिना नबित्दै कांग्रेसले माओवादीलाई धोका दिँदै एमालेसँग मिलेर सरकार बनायो । कांग्रेसको केन्द्रले सत्ता स्वार्थमा लागेर गठबन्धनका दल फेरे पनि आफ्ना नेता कार्यकर्तालाई भने कारबाही, बर्खास्त र निलम्बनको नीति लिएकै छ ।

प्रतिक्रिया दिनुहोस्