२८ असार २०८२, शनिबार

रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनु पर्छः कुलमान घिसिङ

कोलोराडोखबर संवाददाता , July 12th, 2025

ओमान । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भएको छ ।

मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले वार्षिक रुपमा करिब साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने (अर्थात कुल ग्राहस्थ उत्पादनको एक चौथाइ योगदान) खाडी मुलुकमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण बनाइनु पर्ने निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गर्नुभयो । ओमान रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ वैदेशिक रोजगारीमा आउने नेपालीलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनावश्यक समस्या सिर्जना गरी दुःख दिन सुरु गरिन्छ, देशको अर्थतन्त्र धान्न योगदान पुर्याएका नागरिकलाई दुःख दिने हैन, समस्या समाधान गरी सम्मान गरिनुपर्छ, विदेशी भूमिका हैन स्वदेशमा श्रमको अवसर सिर्जना गरिनु पर्दछ ।’

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियान’मा जोडिन उहाँले आह्वान गर्नुभयो । उहाँले ‘उज्यालो नेपाल’ वत्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान भएको उल्लेख गर्नुभयो ।

विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न घिसिङ मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा हुनुहुन्छ । उहाँले त्यहाँ कार्यरत नेपाली श्रमिकहरु बस्ने आवास क्षेत्रको पनि भ्रमण गरी अन्तक्रिया गर्नुभएको थियो ।
कार्यक्रममा ओमान रहेका नेपाली समुदायकोतर्फबाट लोडसेडिङ अन्त्य गरी मुलुकको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै घिसिङलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्