२१ असार २०८२, शनिबार

कविता: सडक

कोलोराडोखबर संवाददाता , July 5th, 2025

-आर. आर. चौलागाईं-
सडकलाई कसैले पनि ख्यालख्याल नसम्झिनू
सडकले जे पनि गर्छ ।

सडकले जिन्दावाद पनि भन्छ
सडकले मूर्दावाद पनि भन्छ
सडकले अबीर पनि दल्छ
सडकले कालो पनि दल्छ
सडकले फूलको माला पनि लगाउँछ
सडकले जुत्ताको माला पनि लगाउँछ ।

सडकले मैनबत्ति पनि बाल्छ
सडकले टायर पनि बाल्छ
सडकले खुसियालीमा बाजा पनि बजाउँछ
सडकले शौचालयमा पनि थुन्छ
सडकले व्यवस्था पनि टिकाउँछ
सडकले व्यवस्था पनि फाल्छ ।

सडकलाई कसैले पनि खेलाँची नसम्झिनू
जो पनि सडकबाटै आएका हुन् ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्