नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विपत् व्यवस्थापन कार्य तत्काल कार्यान्वयन गर्न मातहतका समिति र मोर्चालाई निर्देशन दिएको छ । वर्षा र बाढीपहिरोबाट हुने क्षति कम गर्दै जनताका धनजनको सुरक्षाका लागि विपत् व्यवस्थापन कार्यमा खटिन बिहीबार परिपत्र गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन अनुसार महासचिव देव गुरुङले परिपत्र जारी गर्दै विपत् व्यवस्थापन कार्य तत्काल कार्यान्वयन गर्न भन्नुभएको छ ।
पार्टीको विपत् व्यवस्थापन विभाग गठन गर्ने, स्वयम्सेवक परिचालन संयन्त्र बनाउने र स्वयम्सेवक टोली निर्माण गर्ने निर्णय अनुसार परिपत्र गरिएको महासचिव गुरुङले जानकारी दिनुभयो । विभागलाई पार्टीको प्रदेश, जिल्ला र पालिकास्तरसम्म अविलम्ब निर्माण गर्ने, केन्द्र, प्रदेश र जिल्लास्तरमा पार्टीको नेतृत्वमा स्वयम्सेवक परिचालन संयन्त्र निर्माण गर्न परिपत्र गरिएको छ ।
विपत् परिचालन संयन्त्रको नेतृत्वमा जिल्लामा पार्टी समिति, वाइसिएललगायत मोर्चाबाट सहभागी हुने गरी स्वयम्सेवक टोली निर्माण गर्न पनि भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्