२० असार २०८२, शुक्रबार

छ महिनामा ५ लाख ७७ हजार पर्यटक नेपाल घुम्न आए, अमेरिकाबाट कति आए ?

कोलोराडोखबर संवाददाता , July 4th, 2025

नेपाल । सन् २०२५ को ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएका हुन् ।

गत वर्ष (सन् २०२४) को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । यता, सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । गत वर्षको यसै महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए ।

जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो अमेरिकाबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् ।

तेस्रोमा चीनबाट ६ हजार ७३६, चौथोमा बंगलादेशबाट पाँच हजार ४४९ र पाँचौँ स्थानमा बेलायतबाट दुई हजार २८४ पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै, अस्ट्रेलियाबाट १ हजार ८ सय ३१, मलेसियाबाट १ हजार ३ सय ४८, भुटानबाट १ हजार १ सय ६७, जापानबाट १ हजार १९ र फ्रान्सबाट १ हजार २ पर्यटक आएका छन् ।

बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ जना पर्यटक आएका थिए । यस्तै फेब्रुअरीमा ९६ हजार ८ सय ८० जना, मार्चमा १ लाख २१ हजार ६ सय ८७ जना, अप्रिलमा १ लाख १६ हजार ४ सय ९० जना, मेमा ८६ हजार २ सय १६ जना, जुनमा ७६ हजार ४ सय २४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्