नेपाल । लेखक, निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार कमलकान्त मैनालीसहित कलाकार, पत्रकार र समाजसेवी सम्मानित हुनुभएको छ ।
वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘राता मकै’ को ६८औँ जन्मोत्सवको अवसरमा आइतबार ललितपुरको इमाडोलमा आयोजित एक कार्यक्रममा उहाँहरू सम्मानित हुनुभएको छ ।
कलाकार केसीले आफ्नो जन्मदिन परिवारका सिमित व्यक्तिसँग मनाउन सकिने भए पनि कला क्षेत्रमा र समाजमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्न चाहेको धारणा राख्नुभयो ।
वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले केसीको व्यक्तित्व कहिल्यै नथाक्ने, हसिलो, फुर्तिलो किसिमको रहेको भन्नुहुँदै शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकारले घोचपेच गर्नुपर्ने हुँदा कसैले आफ्नो नसम्झिने भनाइ राख्नुभयो ।
कार्यक्रममा हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकारहरू सबिता गुरुङ, सुशिला निरौला, निर्देशक तथा कलाकार राजशरण बस्नेत, चलचित्र पत्रकारद्वय राजन घिमिरे र शारदा थापा, समाजसेवीद्वय प्यारासिंह न्यौपाने र श्रीनेहा पोखरेल सम्मानित हुनुभयो ।
उहाँहरूलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, लेखक, निर्माता तथा निर्देशक प्रकाश सायमी, हाँस्यव्यङ्ग्य कलाकार लगायतले सम्मान गर्नुभयो । जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्