९ असार २०८२, सोमबार

ग्रिस पठाइदिन्छु भनी ३७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

कोलोराडोखबर संवाददाता , June 23rd, 2025

नेपाल । वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ३७ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा, वारपाक सुलिकोट गापा-४ स्थायी घर भई हाल काठमाडौँ २६ गल्कोपाखा बस्ने २९ वर्षीय राजेश बराम रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उनले चार जनाबाट ३७ लाख रुपियाँ ठगी गरेको उजुरी परेका छ ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएपछि उनलाई पीडितको उजुरीको आधारमा पक्राउ गरिएको छ ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्