अमेरिका । ‘‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन अमेरिकाको बोस्टन सहरमा हुने भएको छ । उक्त अधिवेशनको तयारी तीब्रताका साथ भइरहेको छ ।
‘छैठौं गजल उत्सव’ सहितको उक्त अधिवेशन आउदो जुलाई १९ र २०, २०२५ (शनिवार र आइतवार) म्यासाच्युसेट्स राज्यको बोस्टन सहर नजिकै 594 Washington Street, Braintree स्थिति पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को सामुदायिक भवनमा हुने तय गरिएको छ ।
अमेरिकाका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीको प्रमुख आतिथ्यता रहने उक्त अधिवेशनले संस्थाको वार्षिक साधारण सभा र आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने कार्य सम्पन्न गर्नेछ ।
अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त संयोजक र उपाध्यक्ष टिका पौडेल, महासचिव डाक्टर शीरोज पोखरेल, केन्द्रीय सदस्य बिरोचन नेपाल, बोस्टन च्याप्टर अध्यक्ष राम थापा, आजीवन सदस्यहरु थानिरत्न कंडेल, सानु वर्मा, अन्जु थापा लगायत सह-संयोजक रहेको अधिवेशन मूल आयोजक समिति गठन गरी आवश्यक तयारी अगाडि बनाउन समितिलाई जिम्मेवारी सुम्पिसकिएको छ ।
अधिवेशन संयोजक पन्तका अनुसार रक्तदान कार्यक्रम सहित अधिवेशनको उद्घाटन जुलाई १९, २०२५ शनिवार हुनेछ । रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि अपरान्ह २ बजेसम्म गरिने र त्यस दौरानमा रक्तदानसंग सम्बन्धित छलफल तथा जनचेतनामूलक सन्देशहरु पनि प्रवाह गरिने भएको छ। १९ तारिख शनिवार साँझ साङ्गीतिक गजल गायन कार्यक्रम गरिने भएको छ ।
कार्यक्रम तालिका अनुसार जुलाई २० तारिख आईतवारका दिन साधारण सभा अन्तर्गतका विभिन्न प्रस्तावहरु प्रस्तुत हुने, आवश्यक छलफल गरी त्यसलाई पारित गरिनुका साथै संस्थाको विधान अनुसार आगामी कार्यकाल(२०२५-२७) का लागि नयाँ कार्यसमिति समेत चयन गरिने छ ।
रक्तदान बारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने उद्देश्यका साथ सन् २००९ मा ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को स्थापना भएको हो ।
प्रतिक्रिया दिनुहोस्