६ असार २०८२, शुक्रबार

पशुपतिको जय वागेश्वरीमा ‘त्रिशूल जात्रा’ मनाइयो

कोलोराडोखबर संवाददाता , June 20th, 2025

नेपाल । पशुपतिको जय वागेश्वरीमा बिहीबार ‘त्रिशूल जात्रा’ मनाइएको छ ।

जय वागेश्वरीभन्दा केहीमाथि रहेको सत्तलबाट दुई बालिका र एक बालकलाई त्रिशूलले रोपेको स्वरूप जस्तो देखिने गरेर खटमा राखेर पशुपति क्षेत्रको परिक्रमा गरी जात्रा मनाइएको छ । स्थानीय नेवार समुदायमा यसलाई ‘मचाति’ भनिन्छ ।

नेपाल संवत् तछलागा, भलभल अष्टमीको दिन पशुपतिनाथको देवपतन (ग्वल देश) र पशुपतिको जयवागेश्वरी क्षेत्रमा नेवार समुदायले यो जात्रा भव्य रूपमा मनाउँदै आएका छन् । जात्रा यक्ष मल्लको पालादेखि सुरु भएको मानिन्छ ।

यो काठमाडौँवासीले हेर्न नहुने जात्रा पनि हो, सांस्कृतिक अभियन्ता तथा पुजारी राजन महर्जनले भन्नुभयो, “जात्रामा सहभागीले काठमाडौँवासीलाई जथाभावी गाली गर्छन् ।” किंवदन्ती अनुसार भूमि आचाजु नामका एक पुरोहितले आफ्नो शरीर घरमै छाडेर आत्माको रूप धारणा गरेर अमृतको घडा लिन गएका रहेछन् । काठमाडौँ घर भएकी उनकी श्रीमतीले नहेर्नु भनेको कोठामा गएर हेर्दा श्रीमान्को शरीर देखेर मृत्यु भएको ठानेर माइतीलाई बोलाएर शवको अन्त्येष्टि गरेछन् ।

भूमि आचाजुले यो कुरा चाल पाएर फर्कंदा शरीर जलिसकेको थियो । यही घटना सम्झिएर जात्रामा सहभागीले काठमाडौँवासीलाई गाली गर्ने गरेका हुन् । आजभोलि गालीको साटो हर हर महादेव भन्ने चलन सुरु भएको छ । जात्रामा रथसँगै शव लगेको जस्तै गरी भूमि आचाजुको शवयात्रा गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्