४ असार २०८२, बुधबार

इजरायल–इरान युद्धका कारण नेपाली कामदारहरु प्रभावित

कोलोराडोखबर संवाददाता , June 18th, 2025

अमेरिका । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ ।

मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालिन बैठकले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि योजना बनाएको हो ।

मन्त्रालयका सचिव पुष्करले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर सरकारले बहु आयामिक तयारी गरिरहेको बताए । उनले नेपाल आउन चाहनेहरूको लागि सहजीकरण गर्नेदेखि छिमेकी मुलुक हुँदै आउनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा भिसा सहजीकरणका लागि गृह, परराष्ट्र लगायतका सम्वन्धित मन्त्रालयहरुलाई आग्रह गरिएको जानकारी दिए ।

पछिल्लो समय इजरायल–इरान युद्धका कारण मध्यपूर्वमा बढ्दै गएको तनावका कारण सो क्षेत्रमा रहेका नेपालीहरू प्रभावित भएका छन् । सरकारी तथ्याङ्क अनुसार इजरायलमा ५ हजारदेखि ७ हजारसम्म नेपालीहरू रहेका छन् भने इरानमा पनि दर्जन बढी नेपाली रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्