-आरसी रिजाल-
छोरालाई — ” तँलाई जोईटिङ्ग्रे ,मैले नौ महिना गर्भमा सुताको,दस धारा दूध चुसाको बिर्सिस्।त्यसको भार तिर्न पर्दैन ? ” भन्ने मट्याङ्ग्री बुढीको थेगो झैँ भएको छ।बुहारीलाई –” हाम्रा पालामा यस्तो गर्थ्यौँ/उस्तो गर्थ्यौं ।ऎलेकालाई हाम्ले झैँ बुहार्तन खेप्न परेको भए तिनका बाउको बिहे देख्थे ” भनी उत्तिकै करकर गर्छिन् ।
बुढीको वेतुकका करकरबाट वाक्कदिक्क भएर छोराबुहारीले एक साँझ म र वडा सदस्यलाई बोलाए ।
बुढियालाई अगाडि राखेर मैले कुराको सुरुवात गरेँ– रमाइलोमा/ बाध्यतामा जे होस् छोराछोरी जन्माएपछि हुर्काउनु आमाको कर्तव्य हो। कर्तव्यलाई निहुँ पारेर अधिकार खोज्नु सुहाउँदैन। तपाईंले गर्भमा बोकेको र दूध चुसाएको भार कतिलाख पर्छ भन्नुस् ? छोराले ऎले चेक काटेर दिन्छ। अनि भार बोकेर तपाईं यो घरबाट पार हुनुस्।नभए घरजग्गा तपाईंले राख्नुस्। छोराबुहारी बाहिर डेरामा बस्छन् ।सहनुको पनि एउटा सीमा हुन्छ ।
वडा सदस्यले — एकल महिला भएपनि तपाईंको बानिबेहोरबाट हामी अबगत छौँ।छोराबुहारीसँग सधैंको रडाको। तपाईंको इच्छा अनुसार हुन्छ,ल भन्नुस् — चेक लिने कि घर भने।
मट्याङ्ग्रीले — गर्भको कुरा उठाइ छोराबुहारीलाई मर्म पुर्याएकोमा मलाई सर्म लागिरा’छ।आइन्दा आफ्नो बानी परिवर्तन गर्छु भन्दै आँसु झारिन्।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्