२४ जेष्ठ २०८२, शनिबार

लघुकथा : वाह मेयर !

कोलोराडोखबर संवाददाता , June 7th, 2025

-धनराज गिरी-
— दुनियाँ बुझेर आएको युवक विकाशनारायण नेपाली, चुनावमा होमियो। त्यस्तै पर्यो। पार्टीले पत्यायो। अर्को दलको रजगज थियो अघिल्लो समयसम्म। जनता जहिले पनि परिवर्तनको पक्षमा हुन्छ। ” गुणरत्नमाला नगरपालिका ” जिल्लाको सुन्दर क्षेत्र,केन्द्र न परिधि! ” यो मेयरले केही गर्छ! दुनियाँ देखेर आएको छ। ” मोतीकान्त रत्ननन्दन। ” उम्म, सम्भावना छ, गम्भीर देखिन्छ। ” सरस्वतीकान्त हिमाली। ” भित्री क्याबिनेट कस्तो हुन्छ,त्यसमा भरपर्छ। ” आलोकनाथ गोर्खाली।

चुनाव जित्यो नेपालीले। वडाध्याक्षहरू पनि ताजा युवाहरू । उपमेयरमा ” गौतम यादव! ” राम्रो पाठक,लेखक ” प्रोफेसर प्रह्लादनारायण ज्वालामुखी बिमलोपाध्याय सुमेधाश्रीको मित्र,एक्काईस पटक गीतानगर पुगेका,विवाहमा,म्यारिजको निम्तो आएर,कुमाल र मालहरूसहित।सिक्वेन्स मिल्यो।

अचम्म, हो अचम्म भयो, मेयरले आफ्नो सल्लाहकार मण्डलीमा कट्टर आलोचकहरू मात्र राखे। ज्याद्रो टाइपका विरोधीहरू। फेसबुकमा जहिले पनि आलोचना गर्नेहरू। समर्थकहरू जिल्ल!

” दुःख गरेर जिताउने हामी,अहिले शुभ लाभको पदमा यी विरोधीहरू? ” पार्टीको बैठकमा हो हल्ला। ताते कार्यकर्ताहरू।
” म बोल्न पाउँदिन?” नरम भएर मेयर।
” के बोल्ने?केही बोल्नु छ अब पनि?पार्टीलाई सरासर धोका भएन ?” झल्लुराम अल्लारे।

” होइन,मेयर साहेबले बोल्न पाउनुपर्छ !” साधुराम पौडेल ।
मेयर,शालीन र नम्र भएर, ” साथीहरू,अब म पूरै नगरको मेयर,खेलको नियमानुसार खेल खेलियो,पार्टी अमूर्त हो,मूर्त हो जन कल्याण । यसरी नेताहरूले गरेका गल्तीहरू म दोहोर्याउन चाहन्न। आलोचकहरू वरिपरि राख्नुपर्छ ।समर्थन चाहिन्छ सबैको! तर दलीय राजनीति खरानी बनाएकै लोभीपापी कार्याकर्ताहरूको कारणले हो,म मेयर, कसैको दास होइन, स्वाधीन भएर काम गर्न चाहन्छु। दक्ष हेर्छु। मेरिटोक्रेसीलाई अमल गर्छु। भाषण जान्दिन। खादा,माला चाहिएन। निरन्तरतामा क्रमभङ्ग हुन्छ। ती आलोचकहरू नै मेरा रहबर,गुरु,गाइड! नतिजा हेर्नुहोला! सबै नेपाली एक,अनि मात्र हुन्छ विकाश! मेरो रोडम्याप अलग छ। ”

सन्नाटा!! तीन बर्षमा चमत्कार !! मेयरले अवार्ड पाए। नगरपालिका देशको नम्बर वन मानियो। तल्लो वर्गको उत्थान भयो। मुसहरहरू पनि मूलधारमा आए। पर्यावरण आहा आहा! हरियालीको साम्राज्य।खेती टन्न। ” वाह मेयर! ” जता पनि।

” मेयर साहेब,यो आइडिया,यो रोडम्याप कसरी आयो?” पत्रकार सूर्यप्रकाश सेतो मोसो,खायाखैरन। मुस्कुरायो मेयर, सामुन्नेमा एक योगी,एक प्रोफेसर,भर्खर क्यानडा रिटर्न, उज्यालो अनुहार। ” म पार्थ,निस्वार्थ, म अर्जुन, मेरो कृष्ण,मेरो देवकीनन्दन,मेरो सारथि,हामी सबैको महागुरु, उहाँ,प्रोफेसर दिग्विजयनारायण रामानुज गजलेश्वर आशुतोष महादेव दाबिलेश्री आलोकोपाध्याय,प्रोफेसर जगमोहन आजाद पदमश्री जननीको मितवा,उहाँ !सबै दीक्षा उस्तादको। म त शागीर्द। मेरो एस डी बर्मन उहाँ,म त किशोर कुमार मात्र! ”

” उहाँको मगज त,मान्नुपर्छ ! उहाँकै भिजनले सम्पूर्ण हेडसरहरू सफल हुनुभएको इतिहास ३६ बर्ष पनि भएको छैन ! नमन गुरुदेव! ” पत्रकार। मुस्कुरायो प्रोफेसर । मेयरको अनुहार उज्यालो। देवेन्द्रको साथ पाएको कौन्तेयजस्तै।

-चितवन ।

प्रतिक्रिया दिनुहोस्