२३ जेष्ठ २०८२, शुक्रबार

अमेरिकामा नेपालीहरुको टीपीएस खारेज, २ महिनाभित्र नेपाल फर्कनु पर्ने !

कोलोराडोखबर संवाददाता , June 6th, 2025

अमेरिका । संयुक्त राज्य अमेरिकाको गृह सुरक्षा मन्त्रालयले नेपाली नागरिकहरूका लागि प्रदान गरिएको अस्थायी बसोबास–टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) समाप्त गर्ने घोषणा गरेको छ ।

सन् २०१५ मा गएको भूकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको हो । राष्ट्रपति बाराक ओबामाको प्रशासनले २०१५ नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो ।

यो निर्णयले हजारौँ नेपालीहरूलाई असर गर्ने बताइएको छ। उनीहरूलाई नेपाल फर्कन दुई महिनाको समय दिइएको छ ।

यस हप्ता प्रकाशित एक संघीय राजपत्र सूचनामा नेपालका लागि टीपीएस आधिकारिक रूपमा सन् २०२५ अगस्ट ५ तारिखको मध्यरातबाट अन्त्य हुने छ ।

टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय विपद् र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो ।

यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन् ।

उनीहरुले अमेरिकामा वैध रुपमा बस्ने अधिकार गुमाउन पुगेका छन् । २०२१ को अन्त्यसम्ममा १४ हजार ५५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए । –अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुबाट ।

प्रतिक्रिया दिनुहोस्