काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को २०२१–२२ को तथ्यांक प्रस्तुत गर्दै सो अवधिमा ४ लाख ७० हजार ९७८ नेपाली रिटर्नीको आँकडा रहेको बताउँदै उनीहरूको पुनःएकीकरणमा सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो। ूरिटर्नी फेडरेशन र एनआरएनएको उद्देश्य उस्तै छन्, भन्दै डा. केसीले रिटर्नी फेडरेशनले सुरु गर्न लागेको ‘नवयुग’ परियोजना सञ्चालनमार्फत सहकार्यलाई संस्थागत रूप दिन आग्रह गर्नुभयो।
उहाँले परामर्श, कानुनी सहयोग, रोजगारी, सीप अभिवृद्धि, डिजिटल साक्षरताजस्ता विषयमा एकीकृत परियोजनामार्फत काम गर्न सकिने धारणा राख्नुभयो । ूहामीले पुल निर्माण गरेका छौं, अब एकसाथ अघि बढ्ने समय आएको छ, उहाँले भन्नुभयो।
सहकार्यले देश फर्केका श्रमिकहरूलाई पुनः एकीकृत गर्दै उनीहरूको सीप, अनुभव र लगानीलाई नेपालको समृद्धिमा उपयोग गर्ने सम्भावना थप बलियो बनाएको उहाँले उल्लेख गर्नुभयो।
रिटर्नी फेडरेशन नेपालका अध्यक्ष विनोद भट्टराईले “हिजोका हामी आज रिटर्नी, आजका एनआरएन भोलिका रिटर्नी” भन्दै सहकार्यले मात्र दीर्घकालीन समाधान र अवसर सृजना हुने बताउँदै साझा एजेन्डामा योजना निर्माण र कार्यान्वयनका लागि तत्परता जनाउनुभयो।
सो अवसरमा पूर्व सांसद सूर्य पाठकले यस्तो सहकार्यलाई “समय सापेक्ष र आवश्यक पहल” अगाडि बढाउन सबै सरोकारवालालाई आग्रह गर्नुभयो। उहाँले वर्षाको समय जोखिपूर्ण हुने आकंलनका बीच एनआरएनएको सहयोग स्मरणयोग्य भएको बताउनुभयो। सरकारले बजेटमार्फत सकारात्मक पहलकदमी लिएको उल्लेख गर्दै, बिस्तारै नीतिहरु बन्दै जाने भन्दै राष्ट्रिय पूँजीको निर्माण गर्न सहकार्य गर्ने साझा लक्षय रहेको बताउनुभयो। रिटर्नी र एनआरएनए दुवै व्यापक सञ्जाल भएका संस्था भएकोले मिलेर अघि बढ्ना रिटर्नीहरुको मुद्दा सम्बोधनका लागि सहज वातावरण बन्नेमा जोड दिनुभयो। आगामी दिनमा सहकार्यको थप ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो।
तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले साना तथा मझौला लगानीकर्तालाई प्राथमिकतामा राखी स्थानीय सरकार, रिटर्नी र एनआरएनएबीच त्रिपक्षीय समन्वयमार्फत लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवाका लागि सीप केन्द्र स्थापना गर्ने पहललाई पनि महत्वपूर्ण बताउनुभयो।
रिटर्नी फेडरेशनका उपाध्यक्ष जितेन्द्र बानियाँले समाज कल्याण, सीप हस्तान्तरण, पूँजीगत लगानी, र नेपाली उत्पादनको प्रवर्द्धनमा एनआरएनए र फेडरेशनले मिलेर दीर्घकालीन कार्यक्रम बनाउन सकिने प्रस्ताव गर्नुभयो।
रिटर्नी फेडरेशनका इन्चार्ज कृष्ण बहादुर केसीले रिटर्नीहरूप्रति राज्यको उपेक्षा रहेको उल्लेख गर्दै अब नीतिगत परिवर्तनका लागि एनआरएनएसँग सहकार्य गरी सरकारलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो।
रिटर्नी फेडरेशनका पूर्व उपाध्यक्षले विदेशबाट फर्किएकाहरूलाई लगानीका लागि सहज वातावरण बनाउन, सीप हस्तान्तरणमा टेवा पुर्याउन र समग्र पुनःएकीकरण प्रक्रियामा सहयोग पुर्याउन एनआरएनएसँगको सहकार्य सकारात्मक हुनेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी सबै प्रतिनिधिहरूले साझा दृष्टिकोण, समन्वय र दीर्घकालीन योजनाको आवश्यकता औंल्याउँदै, अबको कदम व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्