२३ जेष्ठ २०८२, शुक्रबार

आइसिसी विश्वकप लिग–२ मा नेपालले नेदररल्यान्डलाई ५ विकेटले हरायो

कोलोराडोखबर संवाददाता , June 5th, 2025

नेपाल । नेपालले स्कटल्यान्डमा जारी आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ ।

डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक रनले हराएको थियो । नेपालको जितका आरिफ शेखले अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रन बनाउनुभयो । आरिफ प्लेयर अफ दि म्याच हुनुभयो ।

यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन र गुलसन झाले अविजित ११ रन बनाउनुभयो ।

बलिङमा नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिनुभयो । भिभियन किङमा र पल भान मिकेरनले एक एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २५ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोआह क्रोयसले सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र रोलफ भान डर मर्वेले २१ रन बनाउनुभयो ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुई दई विकेट झार्नुभयो ।

जितसँगै १४ खेलबाट १० अङ्क बनाएको नेपाल तालिकाको सातौँ स्थानमा छ । २१ खेलबाट २६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।

लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो ।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्