२३ जेष्ठ २०८२, शुक्रबार

संविधान संशोधनको काम तत्काल शुरू गरौंः गगन थापा

कोलोराडोखबर संवाददाता , June 4th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल शुरू गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, बाँकेको प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताए ।

महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको उल्लेख गरे । उनले पाँच वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको भन्दै संसद् र सरकारलाई समावेशी बनाउने गरी सविधान संशोधन गर्न आग्रह गरे ।

उनले संघ र प्रदेशमा उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै संघमा १० देखि १५ जना र प्रदेशमा तीनदेखि पाँच जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गरे । महामन्त्री थापाले नेपालको संघीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधनमार्फत सुधार गर्न आवश्यक भएको बताए ।

उनले जनताका असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भएको उल्लेख गर्दै नेपालको राजसंस्था कहिल्यै संवैधानिक नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्