-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले यहांका स्थानीय र अमेरीकामा जन्मेहुर्केका आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृतीको पहिचान गराउन आयोजना गरिएको “नेपाल डे परेड” सम्पन्न भएको छ ।
कोलोराडोमा नेपाली भाषी समुदायप्च सकृय रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागीतामा “नेपाल डे परेड” आयोजना गरिएको हो ।
आईतबार अपरान्ह १२ बजे देखी दिउँसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालित परेड कार्यक्रममा नेपाली भाषी समुदायका अभिभावक नारायण श्रेष्ठ, कोलोराडोमा सकृय बिभिन्न संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धिजिवी, नेपाली बाआमा, दाजुभाइ दिदीबहिनीको उपस्थिती रहेको थियो ।
यहाँका स्थानीय र अमेरिकामा जन्मेहुर्केका आफ्ना बालबालिकाहरुलाई नेपाल र नेपालीको भाषा, कला, संस्कृती पहिचान गराउने उद्धेश्यले आयोजित कार्यक्रममा सहभागीहरुले आ—आफ्नो संस्कृती झल्कने भेष भुषामा सहभागी भएका थिए । नेवाः खलः कोलोराडो धिमेबाजा र ब्यानर सहित अन्य केही संघ संस्थाहरु पनि ब्यानर सहित कार्यक्रममा सहभागी भएका थिए ।
बोल्डर शहर स्थित बोल्डर लाइबेरीको प्राङ्गणमा जम्माभई शहर परिक्रमा गर्नु अगाडि रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका महासचिव तेजप्रसाद ढकालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले कार्यक्रमको इतिहास कोट्याउदै यसको महत्वबारे प्रकाश पारी परेड शुरु गरेका थिए । सहभागीहरु धिमेबाजाको तालमा शहर परिक्रमा पछी सोही स्थानमा भेला भएका थिए ।
परेड कार्यक्रम हरेक बर्ष भौगोलिक स्थितीले काठमाण्डौं उपत्यकासंग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजना हुने गर्दछ । केहीबर्ष अगाडिदेखी अमेरिकाको बिभिन्न स्टेटमा नेपाली परेड आयोजना हुन थालेको छ । कोलोराडोको परेड भने यहां स्थित बोल्डर सिटी एण्ड काउन्ट्रीको कार्यालयले सन् २००४ देखि नेपाली भाषा, कला, संस्कृतीको संरक्षण तथा पहिचानको लागी हरेक बर्ष नेपालीहरुको “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो ।
अमेरिकामा रहेका पचास स्टेट मध्ये कोलोराडो यस्तो किसिमको कार्यक्रकम गर्ने पहिलो स्टेट हो । नेपालीहरुका दिवस भनेर अमेरिकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो । कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको थियो ।
गतबर्षसम्म अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नयाबर्षको अवसर पारेर गरिदै आएको नेपाल डे परेड यसबर्ष जुन १ तारिकमा गरिएको हो । कार्यक्रमको अन्तमा आयोजक संस्थाको उपसभापति हरीबहादुर गुरुङले उपस्थित सबैलाइ धन्यवाद दिदै यसबर्षको परेड समापन भएको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्