-सुदीपभद्र खनाल-
हावा नेती पकड गतिको शैल अग्ला मदानी
ठेकी धर्ती गगन गृहमा जिन्दगी मात्र पानी
गड्गड् गड्गड् मथन छ दही हेर आवाज आयो
नौनी हाम्रो प्रगति पथको सभ्यता मुस्कुरायो
यो ब्रम्हाण्डै घट नियतिले मथ्छ सुन्छन् मनुष्य
हेर्छिन् बाली प्रकृति विजुली ढ्याङ्ङ चट्याङ खस्छ
तान्यो डोरी सुन विधि उठी कर्ममा जुट्न आयो
निक्ली नौनी सत र करुणा ज्ञान को मुस्कुरायो
भुँड्का जस्ता नवग्रह झुली झुण्डिएका सिकामा
मोती दाना मृदुल शशि छन् टल्किने नाशिकामा
छल्के सातै घरर जलधि घ्वार्र आवाज आयो
नौनी आहा विपुल भवमा सौम्य सौन्दर्य छायो
मथ्ने आफ्नै क्रम छ विधिका ताल हुन् भोर रात
खेताला हुन् ऋतु र दुनियाँ कालको दाल भात
तान्ने छोड्ने घररर हुँदा हर्ष वा दु:ख छायो
निक्ल्यो नौनी सरस वसुधा प्रेमले मुस्कुरायो
पिर्का चौको चहुर हरिया ताल लाग्छन् कचौरा
छिर्का झर्ना विपिन तनका वस्त्र भोटो र दौरा
हल्यो ठेकी घररर गरी मेघमाला करायो
नौनी निक्ली मृदु मनुजता सृष्टिमा मुस्कुरायो ।
-अमेरिका ।
प्रतिक्रिया दिनुहोस्