-धनराज गिरी-
— अनेक प्रपञ्च र घनचक्करहरू पार गरी दिक्क भएर आधा रातमा घरबाट लुसुक्क निस्कियो नभोमणि चिन्तक,बाठो हो,तर इमानदार ! उसको इमानदारीले हावा खायो। सरल र सज्जन बनेको हो,काम लागेन। गौतम बुद्ध बन्न होइन,कुन्नि के हुन हो,निस्कियो। सामाजिक संजालमा ” इटहरी ब्लूज र मैनाली ब्लूज ” जस्तो गरेन । चार छोरीहरूको बा,पत्नी कर्कश, आम्दानीले धान्न गाह्रो,खर्चालु जीवनसङ्गिनी, शङ्का पनि अति गर्ने। ” ह्या,अरू अरू पनि भागेका हुन् — भाग्छु” सोच्यो,र टाप!
— तीन महिना बरालियो। देश छोडेन। मनले के खोजेको हो? के?किन निस्किएको घरबाट ? थाहा छ,थाहा छैन। ” मेरो खोज शान्ति हो,मनको शान्ति! ” स्वसम्वाद! ” स्व ” पढेको थियो। नथियाको सम्झना आयो। पागलवस्तीतिर गएन। दुई चार चुली चढ्यो। मेचीदेखि महाकालीसम्म चक्कर लगाएर पनि उसको ” खोज ” पूरा भएन। ” हे महादेव, म यत्तिकै फर्किने त घर?मार्छे मेरी ज्वालामुखीले!के मुख देखाउन जाने?” मनोवाद। कमलादि पुग्यो। एक हल, ” शान्तिको खोज !” किताबको विमोचन। ” आहा,यसले पो ” रहबर ” को काम गर्लाजस्तो छ,फिर्दौसको साँचो त यहाँ फेला पर्लाजस्तो छ!” मनमा कुरा खेलायो। एक कुनामा बस्यो। केही साहित्यप्रेमीहरू,नजीकै, लाज मानेन। परिचय गर्यो।
” म विनोद नेपाल !” सरल देखिने,एक युवक।
” म गोविन्द नेपाल !” उस्तै!
” म कोपिला घिमिरे! ” शालीन नानी!
” म दुर्गा तिवारी! ” तेजिला नैनास्वामिनी।
” म भगवती बस्नेत! ” युवती,मीठो बोली।
” म गणेश,म बिष्णु,म गफाडी, म शिव , म सिर्जना ” भयो परिचय।
आफ्नो पीर पोख्यो। ” खोज ” बतायो ।
सबैको साझा राय,” सुविधानगर जाने,अतीत बिर्सिने, विदेहीको नाम जप्ने,दूर क्षितिजमा इन्द्र कल्पना गर्ने, ॐ शान्ति ॐ, १००८ पटक जप्ने, जे जे पर्छ खप्ने। अम्लान फूल पढ्ने! सपनाको समाधिको भए आराधना गर्ने, बार्दलीको जूनलाई सम्मान गर्ने। उत्तम रिजालको अनुज,धर्मराज अधिकारीको शागिर्द,हाम्रा दाजी प्रोफेसर ” निर्दोषनारायण भारद्वाज जमरकटेलोपाध्याय गजलश्रीको ” सुझाव मान्ने, ” शान्ति ” को दर्शन हुन्छ। ग्यारेन्टी !!”
नभोमणि लाग्यो सुविधानगरतिर।
-चितवन ।
प्रतिक्रिया दिनुहोस्