१८ जेष्ठ २०८२, आईतवार

लघुकथाः गोबर गणेश

कोलोराडोखबर संवाददाता , May 31st, 2025

-आरसी रिजाल-
अफिसबाट श्रीमान आउनासाथ रिताले– ” कान्छो देवरले बिमारी बाउलाई उपचार गराउन काठमाडौं ल्याउँदै छ्न् रे ! जान्ने भएर हजुरको ज्याद्रो घिट्घिटे बाउलाई हाम्रोमा राख्न नबोलाइस्योस्। बाउलाई सिधै अस्पतालमा भर्ना गर्न भनिस्योस्। बुवाको शेषपछि जिउनी हसुर्ने कान्छाकान्छी? खाँचो लागिराछ खर्च ब्यहोर्न र स्याहार्न , म त सक्तिनँ भनिन् ।

श्रीमानले — समस्यापर्दा आफन्तकाँ नआएर कहाँ जाउन त ? पोहोर तिम्रो आमालाई हामीकैं राखेर उपचार गराएको बिर्सियौ भने।

रिताले — मेरो आमासँग हजुरको बाउको तुलना गर्न मिल्दैन। हजुरका जेठान, सालो बिदेसमा भएकाले आमा स्याहार्नु मेरो बाध्यता थियो।फेरि उपचार खर्चभन्दा बढी रकम उनीहरुले पठाएका थिए।कान्छो भाइले क्रिया खर्च जोगाउन खोज्या जस्तो छ। हजुरको खोपडीमा त गिदिभन्दा बढी लिदि थोपरिस्या जस्तो लाग्छ भनिन् ।

श्रीमानले — साह्रै छुच्चो त हुनुभएन भने।

रिताले — हामी छुच्चो हुनै पर्दैन। ऎलेको घरबेटिले हामी बाहेक आफन्तलाई समेत कोठामा नराख्ने सर्तमा बहाल दिएको हुन् भन्दिस्योस्। समयमा विवेक पुर्‍याउन नसके आफैंले दुख बेसाउनु पर्छ। हजुर त कस्तो गोबर गणेश होइसिन्छ भनिन्।

श्रीमानले —- जे सुकै भन। भोलि सामाजिक लाजगाल तिमिले पनि सहनु पर्ने हुन्छ भन्दै कोठाभित्र छिरे ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्