१७ जेष्ठ २०८२, शनिबार

एनआरएएका पूर्वअध्यक्ष जीवाको ‘अक्षत अन्टार्कटिका’लाई उत्तम शान्ति पुरस्कार प्रदान

कोलोराडोखबर संवाददाता , May 30th, 2025

नेपाल । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८१ सालको ‘उत्तम शान्ति पुरस्कार’ नियात्राकृति ‘अक्षत अन्टार्कटिका’ सर्जक जीवा लामिछानेलाई प्रदान गरेको छ ।

जेठ १२ काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा वासुदेव त्रिपाठीले नियात्राकार लामिछानेलाई गैरआख्यान कृतिलाई मात्र प्रदान गरिने ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरे । पुरस्कारका साथ नगद एक लाख एक रुपैयाँ समेत प्रदान गरियो ।

प्राडा त्रिपाठीले लामिछानेलाई बधाई दिँदै उत्तम कुँवरसँगको आफ्नो सम्बन्धबारे चर्चा गरे । ‘रूपरेखा’ अविस्मरणीय साहित्यिक पत्रिका रहेको उनले उल्लेख गरे । उनले उत्तम कुँवर कुशल सम्पादक मात्र नभएर अनुवादक पनि भएको बताए ।

नियात्राकार लामिछानेले यो पुरस्कारले आफूलाई जिम्मेवारी थपेको महसुस भएको बताए । उनले ‘अक्षत अन्टार्कटिका’ लेखनको रचनागर्भबारे चर्चा गरे । आफूले यात्राको अनुभूतिलाई शब्दमा उतार्ने काम मात्र गरेको उनले बताए ।

समालोचक तथा साहित्यकार प्राडा ज्ञानू पाण्डेले पुरस्कृत कृतिको चर्चा गरिन् । पुस्तकमा नियात्राकार लामिछानेको कवि हृदय छचल्किएको उनले बताइन् । यो कृतिले नेपाली नियात्रामा नयाँ विषयलाई प्रवेश गराएको भन्दै उनले पाठकलाई तृप्त बनाउने महत्त्वपूर्ण पुस्तक लामिछानेले दिएको उल्लेख गरिन् ।

कार्यक्रममा डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना, पद्मावती सिंह, नयनराज पाण्डेले कृति, कृतिकार र गुठीका बारेमा बोले । लामिछानेको ‘अक्षत अन्टार्कटि’का फाइनप्रिन्टले बजारमा ल्याएको हो । जीवा एनआरएनए आईसीसीका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्