१६ जेष्ठ २०८२, शुक्रबार

अमेरिकाको मेरिल्याण्डमा साहित्यिक कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , May 29th, 2025

अमेरिका । अमेरिकामा बसोबास गर्दै आएका विभिन्न पेशा व्यवसाय तथा सेवामा कार्यरत व्यक्तित्वहरुले नेपाली भाषा, साहित्य, कला र सृजनात्मक शैलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले विदेशमा बस्ने नेपालीहरुले नेपाल र नेपाली भाषालाई विस्तारित रुपमा काम गर्दै आएको बताएका छन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री तथा कवि शंकरप्रसाद कोइरालाले विदेशमा बस्ने नेपालीहरुले भाषा साहित्य र कलाप्रति देखाएको सदभाव र सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जे जस्ता कारणले भएपनि मातृभूमि छाडेर यहाँ आईसकेपछि तपाईहरुले भाषा,साहित्यको उत्थानमा खेल्नुभएको भूमिका र गर्नु भएको प्रयास प्रशंसनीय छ ।’’

कवि समेत रहनुभएका कोइरालाले नेपाली भाषा र साहित्यको उत्थानको लागि अझै धेरै प्रयत्नको खाँचो औल्याउनुभयो । मेरिल्याण्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले भावना र आत्मीयता भाषाको माध्यमवाट व्यक्त गरिने भएकाले नेपाली भाषामा धेरै कृतिहरु लेखिनु सुखद भएको बताउनुभयो ।

उहाँले अमेरिकामा स्थानीय रुपमा स्थापित हुनका लागि गर्नु पर्ने प्रयत्न र दायित्व सहित भाषा र संस्कृतिको जगेर्नामा लाग्नेहरु प्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेसास विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले प्रवासमा वसेपनि हामीहरुको हरेक पल नेपाली भाषा र साहित्यको क्षेत्रमा चिन्तन र मनन गरेर वित्ने गरेको बताउनुभयो । कार्यक्रममा पत्रकार मधुकर अधिकारीले नेपाली भाषा र साहित्य क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरुले हातेमालो गरेर अगाडि वढनुपर्ने खाँचो औल्याउनुभयो ।

कार्यक्रममा अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष तथा नायिका पूजा चन्द, एञ्जल्स व्याण्डका राजु लामा, पत्रकार गौतम दाहाल, प्राडा कृष्ण विष्ट, भावना विष्ट, सहदेव कोइराला, मोहन जंग शाही, पारस श्रेष्ठ, एनआरएनएका विष्णु बराललगायतका व्यक्तिहरुले आफनो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा चर्चित गीत रैया चाँदीको बोलका गायक आशीष अविरल, गीतकार नवराज पन्त, हरिशरण कार्की, मृदुला कोइराला लगायतले गीत गाउनुभएको थियो । कार्यक्रममा कवि एसपी कोइराला, ह्यारी भण्डारी र तीर्थराज पाण्डेयले कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्