१५ जेष्ठ २०८२, बिहीबार

किम्फ शुरु, ३० देशका ६५ भन्दा बढी चलचित्र प्रदर्शन हुने

कोलोराडोखबर संवाददाता , May 28th, 2025

नेपाल । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औँ संस्करण बुधबारबाट सुरु हुँदै छ । उक्त किम्फ जेठ १८ गतेसम्म चल्नेछ ।

महोत्सव ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक पार्क र जीएए हलमा आयोजना हुनेछ । ‘खण्डित आवाज, जोडिदैँ कथाहरू’ नारा रहेको किम्फमा ३० देशका ६५ भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।

“यसपटकको चलचित्र र कार्यक्रमहरूमार्फत नेपाली दर्शकलाई मनोरञ्जनका साथै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद सुरु होस् भन्ने हाम्रो उद्देश्य छ,” किम्फ फाउन्डेसनको अध्यक्ष रम्यता लिम्बू भन्छिन् ।

यसपालिको संस्करणमा निर्णायक मण्डलमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिंकी चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) छन् ।

अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १००० अमेरिकी डलर, उत्कृष्ट आख्यानको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानको लागि १००० अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १००० अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय चलचित्रलाई १००० अमेरिकी डलरले पुरस्कृत गरिनेछ ।

नेपाली चलचित्र मध्ये उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट आख्यान र दर्शकहरूले सर्वाधिक रुचाएको चलचित्रलाई सबैलाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ । यो वर्ष केयू उदयमान चलचित्रकर्मीलाई पनि एक हजार अमेरिकी डलर दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्