नेपाल । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको निष्कर्ष निकालेको छ ।
सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले गृहमन्त्री लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि कांग्रेसले उनको कुरालाई पूर्ण रूपमा विश्वास गरेको बताए । उनले भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि छानबिन र कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको स्पष्ट पारे । उनले भिजिट भिसाको दुरुपयोग र भ्रष्टाचार आफूहरूलाई मान्य नभएको बताउँदै त्यसमा गृहमन्त्रीको संलग्नता नरहेको दोहोर्याए ।
साथै बैठकमा सक्रिय सदस्यता नविकरण गर्ने बिषयमा भएको प्रगतिबारे महामन्त्री गगन थापाले प्रस्तुति दिएका थिए । पार्टीले क्रियाशील सदस्यहरूको विवरण आगामी असार मसान्तसम्म टुङ्ग्याउने लक्ष्य राखेको छ । यसले पार्टीको आन्तरिक सङ्गठनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्