नेपाल । बाह्र वर्षीय प्रदिप्ता बडूको पहिलो उपन्यास ‘डेड अर अलाइभ’ आइबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । आवरण क्रियसनद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्राडा लवदेव अवस्थी, साहित्यकार हेमन्ती जोशीलगायतले संयुक्त रूपमा बडूको उपन्यासको लोकार्पण गर्नुभयो ।
प्राडा अवस्थीले बालसाहित्यकार बडूको काल्पनाशील र सिर्जनात्मक क्षमताको आकलन पहिलो पुस्तकबाटै गर्न सकिने बताउनुभयो । उहाँले उपन्यासलाई नेपाली भाषामा पनि अनुवाद गरी पाठकको पहुँचसम्म पुर्याउन सुझाव दिनुभयो ।
आवरण प्रकाशनका प्रबन्धनिर्देशक रमेश पौडेलले बडू बालसाहित्यका लागि प्रतिभावान् र सम्भावना बोकेको लेखिका हुन् भन्दै कलिलो उमेरमा लेखेको उपन्यासमा उहाँको सिर्जनात्मक क्षमता देखिएको बताउनुभयो । उहाँले लेखक बडूले आफ्ना पिताको जन्मदिनकै अवसरमा पुस्तक लोकार्पण गरी उहाँलाई जन्मदिनको उपहार दिएको बताउनुभयो ।
लेखकका पिता कैलाश बडूले प्रदिप्ताले सानै उमेरदेखि हरेक दिनको गतिविधिबारे बताउने, सुनाउने गर्ने स्वभावले उपन्यास तयार गर्न सम्भव भएको बताउनुभयो । एभियसन म्युजियमका संस्थापक पाइलट वेद उप्रेतीले लेखक बडूको पुस्तकलाई अडियो पुस्तकका रूपमा परिणत गरी विश्वभरका श्रोतामाझ पुर्याउन सकिने सुझाव दिनुभयो ।
सर्जक अनन्त वाग्लेले पुस्तकबारे समीक्षा गर्दै कोरोना महामारीका बेला सिर्जना भएको पुस्तकमा जीवाणुको आक्रमण, परिवारको एकतालगायतका विषयवस्तु वरिपरि घुमेको उल्लेख गर्नुभयो । बालसाहित्य समाजका अध्यक्ष विश्वराज आचार्यले बालसाहित्यमा चित्र कम र कथा बढी भएको पुस्तक आउनु राम्रो रहेको बताउनुभयो ।
कार्यक्रममा पाठशाला स्कुलका संस्थापक ईश्वर अधिकारी, प्रधानाध्यापक विश्वनाथ कँडेल, लेखककी हजुरआमा साहित्यकार हेमन्ती जोशी र लेखक बडूले पुस्तकबारे चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्