१२ असार २०८२, बिहीबार

साहित्य सङ्गमद्वारा ८ व्यक्तित्व सम्मानित

कोलोराडोखबर संवाददाता , May 27th, 2025

नेपाल (हेटौंडा) । साहित्य सङ्गम मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मान गरेको छ । ३५५ औं नियमित साहित्य सन्ध्यासँगै सङ्गम साहित्य उत्सव– २०८२ को अवसरमा शनिबार विभिन्न सम्मानबाट ८ जनालाई सम्मानित गरेको हो ।

मकवानपुर साहित्य श्री सम्मान–२०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मान गरिएको छ । तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति संस्थापक रहेको उक्त सम्मानको राशि १५ हजार ५५५ रुपैयाँ रहेको छ ।

यसैगरी भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित भएकी छिन् । विशाल अधिकारी आशुतोषले स्थापना गरेको उक्त सम्मानको राशि १५ हजार ५५५ रुपैयाँ रहेको छ ।

यस्तै समीर पाख्रिन दीपक मुडभरी स्मृति सम्मान २०८१ बाट सम्मानित भए । १० हजार रुपैयाँ राशिको उक्त सम्मान मुडभरी परिवारले स्थापना गरेका हुन् । यसैगरी विनोद सुनिता सुवेदी सम्मान २०८१ बाट पत्रकार रामकुमार एलन सम्मानित भएका छन् । ११ हजार १११ रुपैयाँ राशि रहेको उक्त सम्मान प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले स्थापना गरेका हुन् । १० हजार रुपैयाँ राशिको मंगलादेवी स्मृति सम्मान २०८१ बाट बवी थापा सम्मानित भएकी छिन् । उक्त सम्मान शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेका हुन् ।

यसैगरी मुक्तितारा सम्मान २०८१ बाट यश लामा सम्मानित भएका छन् । मुक्तिगोविन्द वैद्यले स्थापना गरेको उक्त सम्मानको राशि १० हजार रुपैयाँ रहेको छ । यस्तै १० हजार रुपैयाँको रामहरि देवु सम्मान २०८१ बाट मकवापुरे कवि मसान उपासक सम्मानित भएका छन् । ऋषि केबी र पूण्यशीला श्रेष्ठले उक्त सम्मान स्थापना गरेका हुन् । यसैगरी साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०–०८१ बाट अभय श्रेष्ठ सम्मानित भए । डा. केशव श्रेष्ठ ज्योतिले स्थापना गरेको उक्त सम्मानको राशि २५ हजार १ रुपैयाँ रहेको छ ।

शनिबार भएको कार्यक्रममा सम्मानित स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए । कार्यक्रममा २ वटा प्यालन डिस्कसन भएको थियो । सपना र सम्भावना ः सिर्जनामा नयाँ पुस्ता र कविताः युगको प्रतिविम्बनमा प्यानल डिस्कसन भएको संगम सचिव मनोज पोखरेलले जानकारी दिए ।

सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिलले अभिभावकत्व ग्रहण गरेर भएको कविताः युगको प्रतिविम्बनमा प्यानल डिस्कसनका वहसकर्तामा अभय श्रेष्ठ, टीका आत्रेय र घनश्याम घिमिरे रहेका थिए भने सेसनको सहजकर्ता शान्ति प्रियवन्दनाले गरिन् ।

मकवानपुरे साहित्यकार दीपक गौतमको अभिभावकत्वमा भएको सपना र सम्भावनाः सिर्जनामा नयाँ पुस्ता प्यानल डिस्कसनका वहसकर्तामा संप्रस पौडेल, प्रतिमा डङ्गोल र कृतिका लौडारी रहेका थिए । यस सेसनको सहजकर्ता छवि अनित्य थिए ।

कार्यक्रममा अतिथि साहित्यकारहरुको रचना वाचन तथा संगमका कार्यसमितिका पदाधिकारीहरुको रचना वाचन समेत भएको थियो । कार्यक्रमको सहजीकरण सचिव पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्