नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ ।
ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
सातदशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वानसमेत गरिएको उहाँले बताउनुभयो ।
उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सबैलाई आह्वानसमेत गरेको छ । उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहतका कमिटीलाई निर्देश गरेको पार्टी महासचिव पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीको आयोजनामा सांस्कृतिक झाँकीसहित दिवसमा उत्सव आयोजना गरिने र त्यसका लागि झाँकीको संयोजन नेपाल जनसांस्कृतिक महासङ्घले गर्नेछ । सांस्कृतिक झाँकीको आवश्यक संयोजन पार्टी कार्यालयका तर्फबाट पनि गरिने छ ।
प्रतिक्रिया दिनुहोस्