१० जेष्ठ २०८२, शनिबार

‘के म नेपाली हैन र ?’ शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा

कोलोराडोखबर संवाददाता , May 24th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेपाली भाषा साहित्य समितिले आयोजना गरेको ‘के म नेपाली हैन र ?’ शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ ।

मे १८ मा भर्चुअल माध्यमबाट सम्पन्न एक कार्यक्रममा उत्कृष्ट १२ कविहरूको कविता वाचनसँगै नतिजा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्व रहेको थियो भने उपाध्यक्ष कवि कृष्ण गिरीले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । उत्तमराज भेटवाल, जीवराज बम, मधुसुदन पराजुली, ईश्वरीप्रसाद रिजाल, विभुति अधिकारी, सुवोध पौडेल, मदन घिमिरे, संयोग बस्याल, लोकहरि पाण्डेय र राजेश सापकोटाले कविता वाचन गर्नुभएको थियो ।

समितिका सदस्य डा. अजित घिमिरेले पुरस्कार विजेताहरूको नाम घोषणा गर्दै बधाई दिनुभएको थियो । प्रथम पुरस्कार (६सय अमेरिकी डलर) सुवोध पौडेल (हाल नर्थ क्यारोलिना), द्वितीय पुरस्कार (४ सय अमेरिकी डलर) जीवराज बम (हाल काठमाडौं) र तृतीय पुरस्कार (३ सय अमेरिकी डलर) लोकहरि पाण्डेय (हाल गुल्मी) ले प्राप्त गर्नुभएको छ ।

संयोग बस्याल, युगलमणि ढकाल, विभुति अधिकारी र राजेश सापकोटाले प्रोत्साहन पुरस्कार (क्रमशः एक–एक सय, र ५०, ५० अमेरिकी डलर) प्राप्त गर्नुभएको छ । विभूति अधिकारी र राजेश सापकोटाको अंक समान भएकाले प्रोत्साहन पुरस्कार बराबर बाँडिएको थियो।

एक सय ५८ कवितामध्ये एक सय ३८ वटा कवितालाई प्रा. जगतप्रसाद उपाध्याय, डा. मुकुन्द वाग्ले पथिक र प्रभा भट्टराईद्वारा मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कन पद्धतिबारे चर्चा गर्दै प्रा. उपाध्यायले विजेताहरूलाई बधाई दिनुभयो ।

कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, अनेसासका पदाधिकारीहरू, साहित्यकारहरू, र मिडिया प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। डा. बन्जाडेले गैरआवासीय नेपालीहरूको देशप्रेम र नेपालप्रतिको समर्पणबारे प्रकाश पार्नुभएको थियो ।

कवि सुदीपभद्र खनालले सहभागी कविहरू र कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो भने सभापति अर्यालले प्रतियोगिताको महत्व र देशप्रेमको भावनाबारे आफ्नो धारणा राख्नुभयो । उहाँले देशप्रेम भूगोलमा नभई भावनामा हुनुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रम फेसबुक र ई नेप्लिज मिडियाबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्