१० जेष्ठ २०८२, शनिबार

कविता: लुसी (छन्द: द्रुता)

कोलोराडोखबर संवाददाता , May 24th, 2025

-सुदीपभद्र खनाल-
जो हिँडिन् लुसी मुक्त भावले
त्यो अरण्यको राप तापले
आदि विश्वको चेतना लिई
हो मनुष्यता बीज फैलिई

जिन्दगी नयाँ खोज्न लम्किई
दूर देशको मार्ग ताकिई
हाँक लाख ती नाघ्न तम्सिई
आदि मानवी पाइला लिई

गर्त देखिए नाघिए कति
दु:ख भेटिए काटिए कति
जिन्दगी हिँड्यो अग्रगण्य भै
फैलियो धराधाममा सँधै

आँशुका नदी क्रूर त्रासदी
शासकी कडा उग्र ताण्डवी
नाघिई उठ्यो यो पला यहाँ
यामिनी नगै भोर भो कहाँ ?

भित्र यात्रु त्यो आजसम्म छ
नाघ्न यो धरा अक्ष दक्ष छ
यो खगोल नक्षत्र मण्डल
घुम्न वर्षमै लक्ष्य राख्दछ

आदि यात्रुको पाइला चली
दिव्य दीपको त्यो शिखा बली
हुर्कियो यहाँ सभ्यता नव
व्यूँझियो उठी विश्व-मानव

हे लुसी बढा पाइला अझै
छन् खगोलमा तैँ सरी कतै
नाघ जा उडी व्योम मण्डल
खोजिदे तँ झै जीव चञ्चल

लेखिदे नयाँ विश्वको गति
द्वार दे नयाँ प्राञ्ज दे मति
दृष्टि दे नयाँ लक्ष्य दे नयाँ
भेटिदे नयाँ दिव्य धाम धी:

-अमेरिका

प्रतिक्रिया दिनुहोस्