१० जेष्ठ २०८२, शनिबार

कविताः परिवर्तन

कोलोराडोखबर संवाददाता , May 24th, 2025

-आर.आर. चौलागाईं-
हिजो वर्ग सफाया अभियानमा लागेका
चट्टानजस्ता योद्धाहरू
आज बाटो फेरेर
वर्ग सम्झौतामा पुगेका छन्
हिजो हतियार उठाएर जनयुद्धमा होमिएका
फलामरूपी मान्छेहरू
आज मैनजस्तै पग्लिएर
झोलमा परिणत भएका छन्
हिजो प्रजातान्त्रिक आन्दोलनमा जुटेका
कर्मशील हातहरू
आज धमाधम नोट बटुल्ने भएर
करोडपति र अरबपतिमा रूपान्तरित भएका छन्
यही त रहेछ नि परिवर्तन भनेको ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्