नेपाल । चलचित्र पत्रकार संघ नेपालको २६औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला इलामको पर्यटकीय स्थल अन्तुमा सुरु भएको छ ।
चलचित्र क्षेत्रको विकास, विस्तार, चलचित्र पर्यटन प्रवर्धन सहित चलचित्र र पत्रकारिताको भूमिका लगायतका विषयमा मन्थन गर्दै चलचित्र पत्रकार सङ्घ नेपालको २६औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला सुरु भएको हो ।
तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन बुधबार ‘मिडिया मन्थन’ तथा ‘विधागत पत्रकारिता’का विषयमा विशेष छलफल गरिएको छ । कार्यक्रममा नेपाली चलचित्रको वर्तमान अवस्थाबारे समेत व्यापक बहस गरिएको छ । छलफल सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र उद्योगका समसामयिक चुनौती र सम्भावनाबारे आफ्नो धारणा राख्नुभयो ।
त्यसैगरी, मिडिया मन्थनमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीलगायतले सञ्चार माध्यमको भूमिका, जिम्मेवारी र चलचित्र पत्रकारिताको वर्तमान अवस्था सम्बन्धी धारणा व्यक्त गर्नुभएको छ । भेलाको दोस्रो दिन बिहीबार ‘सिनेमा संवाद’ र ‘सिनेमा पर्यटन’का विषयमा कार्यशाला आयोजना गरिने चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष समिर बलम्पाकीले जानकारी दिनुभयो ।
समारोहमा चलचित्रकर्मी मिथिला शर्मा, गौरी मल्ल, शिव श्रेष्ठसहित दर्जनौं कलाकारको सहभागिता रहेको छ। कार्यक्रममा निर्माता सङ्घसहित चलचित्र क्षेत्रका विभिन्न निकायको सहभागिता रहेको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रलाई पर्यटन सङ्घ जोड्का लागि अन्तुमा कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले नेपाली चलचित्रको विकास र प्रवर्धनका लागि बोर्डले अनलाइन प्रविधिमा काम गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्