२ जेष्ठ २०८२, शुक्रबार

एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्धः उद्योगमन्त्री

कोलोराडोखबर संवाददाता , May 16th, 2025

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ‘एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार’ नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ अन्तर्गत लगानी प्रवर्द्धन तथा सुनिश्चितता सत्रलाई सम्बोधन गर्दै उहाँले एनआरएनएको तत्परता मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्नुभयो ।

‘लगानी गर्छु एनआरएनएहरुले भन्नुहुन्छ । लगानी गर्नुस् सरकार भन्छ । तर विभिन्न खालका जटिलताहरु बाधकका रुपमा छन् । तिनीहरुलाई निरुपण गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले लगानीको प्रवर्द्धन सरकारको प्राथमिकता भएको स्पष्ट पार्नुभयो । ‘लगानीको क्षेत्र पहिचान भएको छ । यतिबेला त्यसलाई अझ अनुकूल वातावरण गर्न सकिन्छ । आकर्षण कसरी गर्न सकिन्छ । आन्तरिक प्रवर्द्धन गर्न सकिन्छ । अनुकूलता र प्रतिकूलता छन् । त्यसमा समाधान निकाल्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण सम्भावना हामीसँग छ । तर त्यसलाई कार्यान्वयन गर्न जटिल छ । सरकारले अहिले केही लगानीका वातावरण बनाउन खोजिरहेको छ । तर प्रक्रियामा झेलिएको छ ।’

एनआरएनको सहजताका लागि संसदले कानुन चाँडै बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘कानुनी अधिकार पाइसकेपछि सहज हुनेछ । यद्यपि आज पनि लगानीमा जे जे अवरोध छन् । आइपिओ जारी गर्ने कुरा छ’। उहाँले उल्लेख गर्नुभयो ‘एनआरएनएको फण्ड कार्यान्वयनको लागि आइपिओ जारी गर्न नियामक निकायसँग छलफल गरिररहेका छौं । प्रतिनिधिसभामा नयाँ कानुनहरु जारी गरिसकेका छौं ।’

मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभयो । ‘तपाईंहरु उद्योग दर्ता गर्नुस् । बिजुली, पानी, वत्ती सबै दिन्छौं । १० वर्षको सुरक्षा हुन्छ । हामी आमन्त्रण गर्छौं । सरकारले सहजीकरण गर्छ । सार्वजनिक साझेदारी मोडलबाट औद्योगिक क्षेत्रको विस्तार गर्न चाहेका छौं’, उहाँले भन्नुभयो ।

नेपाली उत्पादनहरु विश्व बजारमा प्रवर्द्धन गर्न चाहेको उल्लेख गर्दै उहाँले त्यसमा एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । ‘यतिखेर हामी थुप्रै लगानीका आधारहरु बनाइरहेका छौं । लगानी चाहन्छौं । उर्जा, जलस्रोत र रुग्ण उद्योग सञ्चालन प्राथमिकतामा छ । तपाईंहरुको पुँजी प्रयोग गर्न चाहन्छौं’, उहाँले भन्नुभयो ।

नेपालमा लगानी थुप्रै क्षेत्र रहेको उल्लेख गर्दै उहाँले एनआरएनएको ज्ञान, सीप, प्रविधि र पुँजी प्रयोग गर्न तथा त्यसको लागि नीतिगत र संरचनागत वातावरण बनाउन सरकार क्रियाशील रहेको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली र उद्योग वाणिज्य संघ एकअर्काको परिपुरक भएको उल्लेख गर्नुभयो । उहाँले एकताबद्ध भएर अगाडि बढ्न सुझाव दिनुभयो र आगामी अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कलेक्टिभ हिसाबले पुँजी नेपालमा ल्याएर ठूला पूर्वाधार निर्माण गर्ने, रोजगारी सिर्जना गर्न उहाँले अपिल गर्नुभयो । ‘त्यो हिसाबमा म्यासेज गयो भने नेपाली निजी क्षेत्र र लगानीकर्तामा राम्रो सन्देश जानेछ’, उहाँले भन्नुभयो । पूर्वाधारको क्षेत्रमा एनआरएन इन्भेष्ट कम्पनीले काम गर्नेगरी अगाडि बढाउन पनि उहाँले अपिल गर्नुभयो । नेपालको विकासमा निजी क्षेत्र र एनआरएनए सँगसँगै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

लगानी बोर्डका सिइओ सुशील ज्ञवालीले नेपालले अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक लगानी भित्र्याउन थुप्रै कामहरु गरिरहेको जानकारी दिनुभयो । विभिन्न ९ वटा कानुनहरु संशोधन गरेर वातावरण सिर्जना खोजिएको उल्लेख गर्दै उहाँले त्यो दिशामा अगाडि बढिरहेको जानकारी दिनुभयो ।

नेपालको समृद्धिलाई अगाडि बढाउने आयोजना अगाडि बढाउन लगानी जरुरी रहेको र यसमा प्रवासी नेपालीहरुको साथ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । लगानी प्रवर्द्धन गर्ने कानुनमा सुधार, संरचनागत र संस्थागत वातावरण निर्माणका लागि आफूहरु क्रियाशील रहेको उल्लेख गर्दै एनआरएन फण्डलाई ठूला आयोजना निर्माणमा केन्द्रित गर्न सुझाव दिनुभयो ।

एउटा विशिष्ट आयोजना सञ्चालन गरेर त्यसमा निरन्तर लगानी गरिरहन अपिल गर्नुभयो । देशको विकासका निम्ति हातेमालो गर्न र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो ।
नेप्सेका चिफ एक्जिक्युटिभ अफिसर चुडामणि चापागाईंले नेपालमा लगानी भित्र्याउन एनआरएनएको भूमिका अपरिहार्य रहेको बताउनुभयो । गैरआवासीय नेपालीलाई १० प्रतिशत शेयर कारोबार सुनिश्चित गरिएको र व्यक्तिगतरुपमा कारोबार भइरहेको उल्लेख गर्दै उहाँले यसलाई थप व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
एनआरएन फण्डमार्फत लगानी गर्न पाउनु सुखद भएको बताउँदै नेप्सेको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । ८० लाख गैरआवासी नेपालीको ज्ञान, सीप, पुँजी नेपालको समृद्धिका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी सुदृढ गर्न नेप्सेले सबै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रमुख कार्यकारी अधिकृत सन्तोषनारायण श्रेष्ठले धितोपत्र बोर्ड र एनआरएन फण्ड जोडिनु स्वागतयोग्य भएको धारणा व्यक्त गर्नुभयो । छरिएको पुँजी नेपाल भित्र्याउने र परिचालन गर्न नियमावली र नियमहरु चाँडो परिमार्जन गर्न जरुरी रहेको उल्लेख गर्दै अर्थतन्त्र र विकासको सम्वाहकको रुपमा एनआरएनए रहेको धारणा व्यक्त गर्नुभयो ।

छरिएका नेपालीको लगानी भित्र्याउनेगरी विश्वासको वातावरण बनाउन सेबोनले भूमिका खेल्ने प्रतिबद्धता पनि जनाउनुभयो । संघका कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले विदेशमा कारोबार गर्दा नेपालमा जस्तो जटिलता भोग्नुनपरेको र जटिलता भए पनि कमाईको केही अंश बचाएर नेपालमा लगानी गरिरहेको उल्लेख गर्दै एक दिन सहज अवस्था आउने अपेक्षा व्यक्त गर्नुभयो ।

संघका ओसिनिया रिजनल कोर्डिनेटर दिनेश पोखरेलले विकसित राष्ट्रमा रहेका सन्ततिहरुलाई राज्यबाट दुख दिन बन्द गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । बिना कुनै झन्झट लगानी भित्र्याउने वातावरण बनाउन अपिल गर्नुभयो । विदेशबाट फर्केर आउँदा राज्यको व्यवहारले निराश हुनुपरेको स्थितिमा सुधार गर्न र संविधानले दिएका सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारको अक्षरशः पालना गर्न माग गर्नुभयो ।

‘हामी यस्तो देशबाट आएका छौं, कम्पनी खडा गर्न खोज्दा ठाउँ ठाउँमा हडल छ । यो सुधार गरिनुपर्छ । विदेशमा रहेका नेपालीले सहज लगानी गर्ने वातावरण बनाउनुपर्छ । यसलाई सम्बोधन गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘नेपालको समृद्धिमा अगाडि बढ्न हामीहरु तयार छौं । तर राज्यले विभेद गर्नुभएन ।’
एनआरएन डेभलपमेन्ट फण्डका सिइओ अनलराज भट्टराईले शेयर मार्केटमा गैरआवासीय नेपालीलाई सहभागी गराउन अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीहरुको सानादेखि ठूलासम्म लगानी भित्र्याउने उद्देश्यले स्थापित नेपाल सरकार समेतको लगानी रहेको १० अर्बको नेपाल एनआरएन डेभलपमेन्ट फण्ड सञ्चालनको लागि हालसम्म भएका कानून संशोधनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौं । यद्यपि धितोपत्र बोर्डले ल्याएको धितोपत्र निष्काशन तथा वितरण सम्बन्धी निर्देशिकामा सरकारबाट आइपीओको प्रतिशतमा ४९ प्रतिशत स्वीकृत भएकोमा हामीले ८५ प्रतिशतको माग गरिरहेका छौं । त्यसर्थ उक्त माग यथाशक्य छिटो सम्बोधन गर्न अनुरोध गर्दछौं ।’

संघका अध्यक्ष बद्री केसीले लगानी र एनआरएनए एकअर्काको परिपुरक रहेको उल्लेख गर्दै जबसम्म संविधानले दिएका गैरआवासीय नेपालीका हकअधिकार पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म जटिलता रहने स्पष्ट पार्नुभयो ।

‘जग्गा खरिद गर्न, सम्पत्ति हस्तान्तरण गर्न, कम्पनी खोल्न पाइरहेका छैनौं । अनि के को लगानीको कुरा गरिरहेका छौं ?’ उहाँले भन्नुभयो, ‘त्यसैले पहिला सहज वातावरण बनाइयोस् । हाम्रा अधिकार सुनिश्चित हुनेगरी ऐन, कानुन, निर्देशिका बनाइयोस् ।’

सत्रको अन्तिममा संघका अध्यक्ष बद्री केसीले मन्त्री भण्डारीलाई मायाको चिनो प्रदान गर्नुभयो । प्यानलिष्टहरुलाई मन्त्री भण्डारीले मायाको चिनो हस्तान्तरण गर्नुभयो । सत्रको सञ्चालन संघका सीईओ राजेन्द्रकुमार राउतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्