३१ बैशाख २०८२, बुधबार

झसापद्वारा फरक कार्यक्रम आयोजना, बकैयामा गरियो नेपाली अन्ताक्षरी प्रतियोगिता

कोलोराडोखबर संवाददाता , May 14th, 2025

नेपाल (हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ ।

संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा उपविधाका कार्यक्रम गर्ने गरेकामा नेपाली भाषा शुध्द लेख्न प्रेरणा दिने उद्देश्यले नेपाली अन्ताक्षरी प्रतियोगिता गरिएको हो ।

सो प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय छतिवनका कक्षा ८–१० का साधारण तथा प्राविधिक धारका गरी पाँच पाँच जनाको पाँच समूह सहभागी भएका थिए । तीमध्ये समृध्दि स्याङ्बो, प्रिन्सी गौतम, विक्रम थिङ तथा प्रितम थापासमेतको रश्मि लामिछानेको समूह प्रथम भएको थियो ।

कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्ष उध्दव सापकोटा, महेन्द्र मावि विव्यसका अध्यक्ष परशुराम गौतम, नारायण चापागाईं, सुभद्रा थापा तथा सन्तोष विकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रधानाध्यापक देवकी सिग्देलको समेत उपस्थिति भएको सो कार्यक्रममा पुरस्कार प्रायोजन गायत्री रुपाखेतीले गर्नुभएको थियो ।

सो कार्यक्रमको सभाध्यक्षता पनि झसापकी उपाध्यक्ष गायत्री रुपाखेतीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्