२९ बैशाख २०८२, सोमबार

बार्सिलोनाद्वारा रियल मड्रिड ४-३ गोलले पराजीत

कोलोराडोखबर संवाददाता , May 12th, 2025

नेपाल । बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ ।

आइतबार राति भएको खेलमा ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी सातमा पुर्‍याएको हो ।

शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ । रियलको भने समान खेलबाट ७५ अंक छ । अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जित या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ ।

यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जित निकाल्न सफल भएको हो । जसमध्ये पछिल्लो जित कोपा डेल रे फाइनलमा निस्किएको थियो ।

ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हो ।

खेलको सुरुआतमा फ्रेन्च स्टार किलियन एमबाप्पेले पाँचौं र १४औं मिनेटमा दुई गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए । तर, घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्लेखनीय पुनरागमन गर्दै राफिन्हा (२ गोल), लामिन यमल र एरिक गार्सियाले एक–एक गोल गरेपछि पहिलो हाफमै ४–२ को अग्रता लियो ।

७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । तर, त्यसपछि रियलले बराबरी गोल फर्काउन सकेन र उपाधि होडमा ठूलो झट्का बेहोर्नुपर्‍यो ।

एमबाप्पे २७ गोलसहित ला लिगाको शीर्ष गोलकर्ता बनेका छन् । बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्की २५ गोलसहित दोस्रो स्थानमा छन् । उनी आइतबारको खेलमा सुरुआती टोलीमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्