नेपाल । अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराममा सहमति गरेपछि दुई देशबिच पूर्ण युद्धको खतरा तत्कालका लागि अन्त्य भएको छ ।
भारतको विदेशमन्त्रालयले एक वक्तव्य जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागु हुने गरी दुवैतर्फबाट कुनै पनि प्रकारको आक्रमण प्रत्याक्रमण नगर्ने सहमति भएको जानकारी दिएको छ ।
वक्तव्यमा भनिएको छ, “पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले शनिबार०अपराह्न १५ः३० बजे भारतका सैन्य अपरेसन महानिर्देशकसँग टेलिफोन वार्ता गर्नुभयो । दुवै पक्ष भारतीय मानक समय १७ः०० बजेदेखि जमिन, हवाई तथा समुद्र सबैतर्फको गोलाबारी र सैन्य कारबाही बन्द गर्न सहमत भएका छन् ।”
सहमतिलाई प्रभावकारी बनाउन दुवै पक्षका सैनिकलाई निर्देशन दिइएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ ।
यता, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, “अमेरिकाको मध्यस्थतामा गत रातभरि भएको कुराकानीपछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएका छन् । आफ्नो उत्तम सोच र बौद्धिकता देखाएकोमा दुवै देशलाई बधाई छ ।”
भारत–पाकिस्तानबिचको मध्यस्थता गर्दा दुई पक्षका सरकारसँग शनिबार बिहान लामो वार्तालाप गरेको अमेरिकी विदेशमन्त्रालयले प्रस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्