२७ बैशाख २०८२, शनिबार

कविता: रङ

कोलोराडोखबर संवाददाता , May 10th, 2025

-सुदीपभद्र खनाल-
आ आ रात लिएर आ तिमिरको सारा अँध्यारो घना
कालो कर्कश क्रूरता कहरको जालो निरालो पना
त्यै कालोपनबाट झिक्न म सकूँ आभा नयाँ कञ्चन
जस्तै भर्भर अग्निकुण्ड बिचमा बन्छन् तपी कुन्दन ।

आ ए दु:ख तँ आ लिएर युगका बाहूबली शून्यता
काला क्रन्दन यातना घनघटा आडम्बरी कूटका
सारा दु:ख पिएर सिर्जन सकूँ आभा नयाँ प्राञ्जल
जस्तै पङ्कज पङ्ककै रसपिई सौन्दर्यले युक्त छ ।

आ आ भोक तँ आ समस्त म निलूँ संसारकै कल्मष
यस्तो प्यास चढोस् कि प्यूँन मसकूँ तृष्णा र ईर्स्या रिस
सारा वीष पिएर बाँच्न म सकूँ आनन्दले हर्षित
जस्तो घूँट लिएर कालकुटको छन् शान्त श्री शंक ।र

आ आ ताप तँ आ म सूर्य सम हूँ ठण्डा हिमानी सरि
पानीझैँ म बगूँ लिई सरसता दौडूँ म हावासरि
मान्छेभित्र पवित्र प्राण म फुकूँ आधार भै पावन
जस्तो जीवनदायिनी सकलको धर्ती छ सर्वोत्तम ।

आ हे स्तुत्य सुभावना प्रकृतिकी दे त्याग गर्ने कला
जाओ दम्भ प्रलम्भ लोभ मनका दुर्भावना अर्गला
सारा मन्थन सृष्टि गर्न म सकूँ नाघी अविद्या तम
जस्तै दिव्य उषा खुली शिखरमा भर्छिन् अनेकौँ रङ ।

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्