-आर. आर. चौलागाईं-
जसले झन्डा उठाए
उनैले झन्डा ओढेनन् ।
उनले उठाएको झन्डा
गाढा रातो रङको थियो
टाढैबाट चिनिन्थ्यो
पछि त्यो झन्डामा
अनेक थरी रङहरू मिसिँदै गए
र झन्डा कसको हो छुट्याउनै नसक्ने हुँदै गयो ।
उनले धेरै प्रयत्न गरे
पहिलाको जस्तै झन्डाको रङ जोगाउन
तर सकेनन्
झन्डामा कहिले नीलो रङ मिसियो
त कहिले पहेँलो रङ मिसियो
अनि झन्डा रङ्गीबिरङ्गी भयो
उनका कुरा कसैले पनि सुनेनन् ।
आज उनले उठाएको झन्डा ओढेर
उनका सहयात्रीहरू सत्ताको भोग गरिरहेका छन्
र बिस्तारै उनको सपनालाई बिर्सिँदै गइरहेका छन् ।
हिजो झन्डा उठाउँदा पनि उनी महान् भएका थिए
र आज झन्डा नओढ्दा पनि उनी अमर भएका छन् ।
(नेता प्रदीप नेपाल एवम् साहित्यकार सञ्जय थापाको सम्झनामा)
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्