१७ जेष्ठ २०८२, शनिबार

लेखकहरू विचार उत्पादनका केन्द्रः राष्ट्रपति

कोलोराडोखबर संवाददाता , May 9th, 2025
नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गर्नुभएको छ ।
नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बिहीबार राष्ट्रपति कार्यालयमा बधाई तथा शुभकामना दिँदै उहाँले भन्नुभयो, “लेखक स्वयंमा सत्ता हो, सङ्गठन, विचार र आफैँमा अभियान पनि हो ।”
मुलुकभरका ३०१ प्रतिनिधि सहभागी सङ्घको गत चैत १६ र १७ गते लुम्बिनीमा आयोजित आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । उक्त कार्यसमितिलाई राष्ट्रपतिले एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिनुभएको हो । उहाँले सङ्घले लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको इतिहाससमेत रहेको स्मरण गर्नुभयो ।
लेखक संघले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले सर्जकहरूको सामूहिक प्रयत्नलाई आफ्नो आदर्श मानेको उहाँको राष्ट्रपतिको भनाइ थियो । उहाँले भन्नुभयो, “यी कुराहरु लोकतान्त्रिक व्यवस्थाको आर्दशका लागि पूर्वसर्त हुन् ।”
कार्यक्रममा संघका अध्यक्ष वियोगी बुढाथोकी, सहअध्यक्ष मनोज न्यौपाने, उपाध्यक्षहरु डा शशि थापा पण्डित, डा विष्णु केसी, उपमहासचिव नारायण सापकोटाका साथै केन्द्रीय सदस्यहरु महेन्द्र वाग्ले, इन्द्र लम्साल, सन्तोष बोहरा, शोभा अधिकारी, इन्दिरा निरौला, राजन बस्नेतसँगै सङ्घका सल्लाहकारहरु डा विष्णुविभु घिमिरे, सन्ध्या पहाडी, शेखर गिरीलगायतको उपस्थिति थियो ।
नेपाली लेखक संघको स्थापना विसं. २००८ सालमा भएको हो । नेपालको पहिलो प्रजातान्त्रिक परिवर्तनपछि स्वतन्त्र विचारधारा भएका लेखकहरू सङ्गठित भएर सङ्घको स्थापना गरेको इतिहास छ । विसं २०१७ पछिको पञ्चायती कालखण्डमा निष्क्रिय रहेको संघ २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भएपछि नयाँ संरचनासहित पुनःक्रियाशील बनेको हो ।

प्रतिक्रिया दिनुहोस्