नेपाल । हेटौँडा उपमहानगरपालिका वडा नं १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ ।
गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अचानक चिप्लिन गई गत शुक्रबार दिउँसोबाट जमिनमा भासिएपछि बेपत्ता भएको हो । दलदलमा भासिएर बेपत्ता भएको उक्त गाडी छैटौँ दिन हुँदासमेत फेला परेको छैन ।
उता जमिनभित्रै हराएको गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली बुधबार दिउँसो काठमाडौँ फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । भूगर्भविद् नारायण अधिकारीसहितको टोली आफूहरू नै असुरक्षित भएको भन्दै फर्किएको हो ।
भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै उहाँले प्रारम्भिक अध्ययन भएको र अझै गाडी कति तल र कहाँ छ भन्ने यकिन भइनसकेको बताउनुभयो ।
गैरीगाउँबाट चुच्चेखोलातर्फ आउने भित्री कच्ची सडकखण्डमा सडकनजिकै माछापालनका लागि बोरिङ खनेको पानीसहितको खाल्डोमा बोलेरो गाडी भासिएर दलदलमा बेपत्ता भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्