२४ बैशाख २०८२, बुधबार

आईपीएलः मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

कोलोराडोखबर संवाददाता , May 7th, 2025

नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्ध डकवर्थ लेविस डीएल पद्धतिअनुसार तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति वर्षाले प्रभावित बनेको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै १५५ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको गुजरातले १८ मा ६ विकेट गुमाएर १३२ रन बनाउँदा पानी परेपछि खेल केहीबेर प्रभावित बनेको थियो ।

वर्षाका कारण खेल केहीबेर रोकिएपछि गुजरातले १९ ओभरमा १४७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो। जसलाई गुजरातले १९ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो ।

गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । जस बटलरले २७ बलमा तीन चौका र एक छक्कासहित ३० रन थपे। शेरफन रुथरफोर्डले २८ रन जोडे ।

मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए । दीपक चहरले एक विकेट लिए ।

त्यसअघि, मुम्बईका विल ज्याक्सले सर्वाधिक ५३ रन बनाएका थिए। सूर्यकुमार यादवले ३५ र कोर्बिन बोस्कले २७ रन थपे। यसबाहेक, अन्य ब्याटर दोहोरो अंक जोड्न सकेनन् ।

मुम्बईविरुद्ध साई किशोरले दुई विकेट लिए । मोहम्मद सिराज, अर्शद खान, प्रशिद्ध कृष्णा, राशिद खान र गेराल्ड कोएट्जेले समान एक विकेट लिए ।

जितसँगै ११ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्