नेपाल । पूर्वमन्त्री प्रदीप नेपालको मंगलबार निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।
एमालेको पोलिटब्युरो सदस्य रहिसक्नुभएका उहाँले पत्रकारिता एवम् साहित्य विधामा निरन्तर कलम चलाउँदै आउनुभएको थियो । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नुभएको थियो ।
विसं २०१० पुस २७ गते भोजपुरको गोगनेमा जन्मनुभएका नेपाल नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक र विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय हुनुहुन्थ्यो । भूमिगत कालमा उहाँ सञ्जय थापाका नाममा परिचित हुनुहुन्थ्यो ।
यसैबीच, पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई मंगलबार साँझ अन्त्येष्टि गरिएको छ ।
त्यसअघि उहाँप्रति नेकपा (एमाले) का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले) का महासचिव सिपी मैनाली, पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्